close

महिलाको नाममा फेक आईडी बनाई बालिकाका नग्न तस्विर जुटाएर साथी-आफन्तलाई पठाउने युवक पक्राउ

टेकपाना टेकपाना

पुस ६, २०८२ १७:५०

महिलाको नाममा फेक आईडी बनाई बालिकाका नग्न तस्विर जुटाएर साथी-आफन्तलाई पठाउने युवक पक्राउ

 

काठमाडौँ । एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा धनगढी-१२, जुगेडा डी गाउँ, कैलालीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय सन्दीप चन्द रहेका छन् ।

ब्युरोका अनुसार उनले सामाजिक सञ्जालमा महिलाको तस्विर प्रयोग गरी फेक अकाउन्ट बनाएर पीडित बालिकासँग कुराकानी गर्न सुरु गरेका थिए । त्यस क्रममा नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्विर र भिडिओ मागेको र सेभ गरेर थप अश्लील गतिविधि नियमित रूपमा गर्न लगाउँदा नाबालिकाले नमानेको बताइएको छ ।

त्यस पश्चात् उक्त तस्विर र भिडिओ पीडित बालिकाको विद्यालयका साथी तथा आफन्तका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको ब्युरोको प्रेस विज्ञप्तिमा उल्लेख छ । नाबालिकाका अभिभावकले ब्युरोमा निवेदन दिएपछि यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणको काम सुरु भएको थियो ।

त्यसै क्रममा चन्दको संलग्नता खुल्न आएको हो । ३ पुस २०८२ का दिन जिल्ला प्रहरी कार्यालय, कैलालीको सहयोगमा पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतको आदेशले ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ । 

पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १७:५४