काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेको खुद नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो नाफा ६८ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।
हालै सार्वजनिक भएको कम्पनीको वित्तीय प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा फोनपेले ३१ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको नाफा १८ करोड ७६ लाख रुपैयाँ मात्र थियो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३७.१६ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा बढेर ६२.३२ रुपैयाँ पुगेको छ ।
फोनपे हाल नेपालको सबैभन्दा ठुलो पीएसओ हो । कम्पनीले क्यूआर कोड भुक्तानीका साथै फोन नम्बरकै आधारमा रकम पठाउन मिल्ने ‘फोनपे डाइरेक्ट' सेवा सञ्चालन गरिरहेको छ । यसका साथै प्रयोगकर्ताहरूले फोनपेमार्फत विभिन्न किसिमका महसुल तथा बिल भुक्तानीसमेत गर्न सक्छन् ।
प्रविधिको विस्तार गर्ने क्रममा फोनपेले पछिल्लो समय भर्चुअल क्रेडिट कार्ड समेत सञ्चालनमा ल्याएको छ । हाल फोनपेको नेटवर्कमार्फत नेपाल र भारतबिच अन्तरदेशीय कारोबार भइरहेको छ भने दक्षिण कोरिया र श्रीलङ्कालगायतका देशसँग पनि अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सम्झौता भइसकेको छ ।
पछिल्लो अध्यावधिक: पुस ७, २०८२ १४:०
