काठमाडौँ । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डको आधिकारिक बिक्रेता भीजी मोटर्सले एसआरएमको ७ सिटर विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार काठमाडौँको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा कलाकार सुनिल थापाले उक्त भ्यानको अनावरण गरे ।
भ्यानमा ५० किलोवाटको मोटर जडान गरिएको छ भने यसले एक पटकको फूल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । बजार मूल्य ३९ लाख रुपैयाँ तोकिएको यो भ्यान विशेषगरी कर्पोरेट हाउस, होटल र विद्यालयहरूका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार नेपालभर भीजी मोटर्सका ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरू सञ्चालनमा छन् । अन्य विद्युतीय सवारीको तुलनामा यसका स्पेयर पार्ट्सको मूल्य ८० प्रतिशतसम्म कम पर्ने कम्पनीको दाबी छ ।
भ्यान सार्वजनिक कार्यक्रमको अवसरमा कम्पनीले विद्युतीय सवारी साधनसम्बन्धी भ्रम र यसको भावी प्रभावबारे एक कार्यशालासमेत आयोजना गरेको थियो । कार्यशालामा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले नेपाल भित्र्याइएको ईभी प्रविधि विश्वव्यापी बजारमा परीक्षण भइसकेको र यसले स्थानीय हावापानीमा विश्वसनीयता सुनिश्चित गर्ने बताए ।
कार्यक्रममा अटोमोटिभ ईभी विज्ञ सम्राट गौतमले व्यावसायिक ईभीको प्रयोगले सवारी प्रदूषण ८० प्रतिशतले घटाउने तथ्यांक प्रस्तुत गरे । त्यस्तै, कम्पनीका बिजनेस हेड चन्दन रौनियारले इन्धन गाडीको तुलनामा ईभीको सञ्चालन खर्च निकै कम हुने र भविष्यमा यसको रिसेल भ्यालु (पुनः बिक्री मूल्य) समेत उच्च रहने बताए ।
मेकानिकल इन्जिनियर दीपक शर्माले ईभीमा चलायमान पार्टपुर्जाहरू कम हुने भएकाले मर्मत खर्च ६० प्रतिशतले बचत हुने जानकारी दिए ।
भीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक बिजुक्छेले आगामी दिनमा पनि चिनियाँ प्राविधिक र इन्जिनियरहरूको सहयोगमा सवारीधनीहरूलाई ईभीका विविध पक्षबारे जानकारी गराउन यस्ता कार्यशाला निरन्तर आयोजना गर्ने बताए ।
पछिल्लो अध्यावधिक: पुस ७, २०८२ १८:८
