close

च्याटजीपीटीले ल्यायो प्रयोगकर्ताको वर्षभरको समीक्षा गरिदिने फिचर ‘इयर इन रिभ्यु’

टेकपाना टेकपाना

पुस ८, २०८२ ११:२

च्याटजीपीटीले ल्यायो प्रयोगकर्ताको वर्षभरको समीक्षा गरिदिने फिचर ‘इयर इन रिभ्यु’

काठमाडौँ । ओपनएआईले आफ्ना च्याटबट प्रयोगकर्ताहरूका लागि ‘स्पटिफाई र्‍याप्ड’ जस्तै वार्षिक समीक्षा फिचर ‘Your Year with ChatGPT’ (च्याटजीपीटीको साथमा तपाईँको वर्ष) सुरु गरेको छ । यो नयाँ फिचरले प्रयोगकर्ताहरूलाई सन् २०२५ भर उनीहरूले च्याटजीपीटीसँग गरेका कुराकानीको व्यक्तिगत तथ्याङ्क र रोचक विश्लेषणहरू देखाउँछ ।

यो वार्षिक समीक्षाले प्रयोगकर्तालाई उनीहरूको वर्षभरको गतिविधिको विस्तृत विवरण दिन्छ । जसमा प्रयोगकर्ताले वर्षभर कति ओटा मेसेज पठाए, कति ओटा च्याट सुरु गरे र कुन दिन उनीहरू सबैभन्दा बढी सक्रिय थिए भन्ने जानकारी यसमा समावेश हुन्छ ।

रोचक कुरा त के छ भने च्याटजीपीटीले प्रयोगकर्तासँगको कुराकानीमा कति ओटा 'एम-ड्याश' (em-dashes) अर्थात् लामो खाले ड्याश (-) प्रयोग गरियो भन्ने अनौठो तथ्याङ्क पनि प्रस्तुत गर्छ ।

एआईले प्रयोगकर्ताको कुराकानी गर्ने तरिकाको विश्लेषण गरी उनीहरूको 'च्याट स्टाइल' (जस्तै: पत्रकारिता जस्तो, स्पष्ट वा अनौपचारिक) बारे पनि बताउँछ । प्रयोगकर्ताको प्रयोग गर्ने तरिकाका आधारमा च्याटजीपीटीको सिस्टमले उनीहरूलाई विभिन्न विधामा वर्गीकृत गर्छ । जसमा द प्रोड्युसर (The Producer), द नेभिगेटर (The Navigator), स्ट्राटेजिस्ट (Strategist) वा टिङ्करर (Tinkerer) जस्ता उपमा रहेका छन् ।

कुराकानीका विषयवस्तु अनुसार इन्स्ट्यान्ट पट प्रडिजी (Instant Pot Prodigy) वा क्रिएटिभ डिबगर (Creative Debugger) जस्ता रमाइला अवार्ड पनि दिइन्छ ।

च्याटजीपीटीले प्रयोगकर्ताको रुचि र विषयवस्तुमा आधारित भएर एआई-जेनेरेटेड कविता र पिक्सेल आर्ट पनि सिर्जना गर्दछ । यसका साथै नयाँ अङ्ग्रेजी वर्ष २०२६ को लागि भविष्य बताउने फर्च्युन कुकी (fortune cookie) जस्तो फिचर पनि समावेश गरिएको छ । जसमा प्रयोगकर्ताले आफ्नो बारेमा एआईले गरेका भविष्यवाणीहरू हेर्न सक्छन् ।

टेकक्रन्चका अनुसार यो फिचर हाल अमेरिका, बेलायत, क्यानडा, न्युजिल्याण्ड र अस्ट्रेलिया लगायतका केही निश्चित देशका निःशुल्क, प्लस र प्रो प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको छ । यद्यपि टिम, इन्टरप्राइज वा शैक्षिक अकाउन्ट भएका प्रयोगकर्ताहरूले गोपनीयता र डेटा स्टोरेज सम्बन्धी चिन्ताका कारण यो सुविधा प्रयोग गर्न पाउने छैनन् । प्रयोगकर्ताले आफ्नो मोबाइल वा डेस्कटप एपको होमपेजमा यो विकल्प नदेखेमा सिधै ‘show my year in review’ भनी प्रम्प्ट दिएर पनि यो सुविधा प्रयोग गर्न सक्छन् ।

यो फिचर प्रयोग गर्नका लागि तपाईँले च्याटजीपीटीलाई पुराना कुराकानी र व्यक्तिगत प्राथमिकतालाई सन्दर्भको रूपमा लिने अनुमति दिएको हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ ११:२