पाँच महिनामा नेपाल भित्रिए १० लाख ७० हजार स्मार्टफोन, बाहिरियो १९ अर्ब १३ करोड रुपैयाँ
पुस ८, २०८२ १८:५३
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा १० लाख ७० हजार ६८० थान स्मार्टफोन आयात भएका छन् । भन्सार विभागका अनुसार पाँच महिनामा १९ अर्ब १३ करोड रुपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएका हुन् । जसबाट सरकारले तीन अर्ब ५६ करोड रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ ।
पाँच महिनामा सर्वाधिक स्मार्टफोन चीनबाट आयात भएको छ । १५ अर्ब रुपैयाँबराबरको नौ लाख थान बढी स्मार्टफोन त्यहाँबाट नेपाल भित्रिएको विभागले जनाएको छ ।
त्यसपछि भारतबाट धेरै स्मार्टफोन आयात भएका छन् । तीन अर्ब ८७ करोड रुपैयाँ बराबरको एक लाख ६२ हजार २४७ थान स्मार्टफोन भारतबाट भित्रिएको सरकारी रेकर्डमा देखिन्छ ।
खाडी मुलुक कतारबाट पाँच महिनामा एक करोड २५ लाख रुपैयाँ बराबरको ६०४ थान स्मार्टफोन आयात भएको देखिन्छ । यूएईबाट चार करोड ८८ लाख रुपैयाँ मूल्य बराबरको ५१२ थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।
पाँच महिनामा अमेरिकाबाट पाँच करोड मूल्य बराबरको ४४४ थान फोन आएका छन् । अष्ट्रेलियाबाट तीन करोड ३० लाख रुपैयाँ बराबरको २७८ थान स्मार्टफोन भित्रिएको देखिन्छ ।
त्यसैगरी, जापानबाट तीन करोड २२ लाख रुपैयाँ बराबरको ४१४ थान र दक्षिण कोरियाबाट एक करोड १६ लाख रुपैयाँ बराबरको १६६ थान स्मार्टफोन भित्रिएका छन् ।
पछिल्लो अध्यावधिक: पुस ८, २०८२ १९:५
