तनहुँको खैरेनीटार-भिमाद चोकमा सडकमै टिकटक भिडिओ बनाउने बढे, दुर्घटनाको जोखिम
पुस ८, २०८२ २१:३९
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार-भिमाद चोक क्षेत्रमा सडकमै टिकटक बनाउने युवायुवतीको संख्या बढ्दै गएको छ । राजमार्ग विस्तार तथा मर्मतको काम जारी रहेको उक्त व्यस्त सडक खण्डमा भिडिओ खिच्ने गतिविधिले सवारी आवागमन अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
सडक विस्तारपछि फराकिलो भएको र हिमालको दृश्य आकर्षक देखिने स्थान भएकाले विद्यार्थी-युवायुवतीहरू सडकमै उभिएर वा बसेर टिकटक भिडिओ बनाउने गरेका छन् । दैनिक रूपमा सो स्थानमा भिडिओ खिच्न पुग्नेहरूको चाप बढेसँगै तीव्र गतिमा गुड्ने सवारीका कारण मानवीय क्षतिको सम्भावना बढेको स्थानीयवासीको भनाइ छ ।
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बुद्धिबहादुर थापाले टिकटक बनाउने नाममा सडकमा विकृति फैलिन थालेकाले यस्ता गतिविधि रोक्न पहल गर्ने बताए । रमाइलोका नाममा ज्यानै जोखिममा पार्ने र सार्वजनिक मर्यादा नाघ्ने कार्य अब स्वीकार्य नहुने उनले उल्लेख गर्दै उनले भने, “टिकटक बनाउनकै लागि युवायुवतीहरू त्यहाँ भेला भएका छन् । कतिपयले बीच सडकमै लुगा चेन्ज गर्दै नयाँ-नयाँ भिडिओ बनाउने गरेको पाइएको छ । यो रमाइलो मात्र होइन, सामाजिक विकृति पनि हो । राजमार्ग जस्तो संवेदनशील ठाउँमा यस्ता गतिविधि रोक्न भोलि (बुधबार)देखि नै पहल गर्छाैँ,” उनले भने ।
वडाध्यक्ष थापाले नगर प्रमुखसँग पनि आवश्यक समन्वय गर्ने जानकारी दिँदै अब यसलाई सामान्य रूपमा नलिइने बताए । “हामी भोलिदेखि नै नगर प्रहरी खटाउँछौँ । सडकमा अवरोध पुर्याउने, सार्वजनिक स्थलमा अमर्यादित काम गर्ने र जोखिम निम्त्याउने जोसुकैलाई पनि प्रहरीको सहयोगमा नियन्त्रणमा लिइनेछ,” उनले थपे ।
यसैगरी, वडा नम्बर ७ का अध्यक्ष खड्ग सिं थापाले राजमार्गको संवेदनशीलतालाई बुझिदिन युवा पुस्तालाई आग्रह गरे । “यो राजमार्ग हो, कुनै पार्क वा खेलमैदान होइन । यहाँ भोटेपानी भई आउने सवारी र राजमार्गमा गुड्ने तीव्र गतिका गाडीहरूको संगम हुन्छ । त्यसमाथि ओरालो-उकालो सडक पनि हो । यस्तो ठाउँमा बीच सडकमै नाच्ने, भिडिओ खिच्ने क्रम बढेकाले जोखिम निम्तिन सक्छ ।”
अब उक्त स्थानमा सूचना बोर्ड राख्ने र सडकलाई सुरक्षित बनाउन निगरानी बढाउने उनले प्रतिबद्धता जनाए । भिमाद चोक शुक्लागण्डकी वडा नम्बर ५ र ७ को सीमा क्षेत्र हो । सडक क्षेत्रमै भिडिओ बनाउनेहरू बढ्न थालेपछि सवारी चालकको ध्यान विचलित हुने र पैदलयात्रीलाई समेत समस्या पर्ने देखिएको छ ।
बेलचौतारास्थित इलाका प्रहरी कार्यालयले हालसम्म यसबारे औपचारिक उजुरी नआए पनि सामाजिक सञ्जालमा देखिएका दृश्य र जनगुनासोका आधारमा प्रहरी सचेत भएको जानकारी दिएको छ । एक सूचना जारी गर्दै प्रहरीले भनेको छ, “...भिमाद चोक अति दुर्घटनाग्रस्त क्षेत्र हो । सडक स्तरोन्नतिले गर्दा सवारी आवागमनमा बाधा परिरहेको अवस्थामा पछिल्लो समयमा भाइरल रोडभन्दै टिकटक, रिल्स, भिडिओ बनाउने कार्यले भिड जम्मा हुँदा झन् बढी दुर्घटनाको जोखिम बढाएको छ । यसर्थ, सम्बन्धित सबैलाई यसतर्फ सचेत भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।”
कार्यालयका सहायक हवल्दार अमित यादवले राजमार्गमा भिडिओ बनाउने कार्य ज्यानकै लागि जोखिमपूर्ण हुने भन्दै नगरपालिकासँग समन्वय गरेर अबदेखि सुरक्षा निगरानी बढाइने बताए ।
पछिल्लो अध्यावधिक: पुस ८, २०८२ २२:४९
