काठमाडौँ । सरकारले अन्तरिम अवधिका लागि पुरानै कम्पनीसँग गरेको सम्झौताअनुसार तीन लाख ९६ हजार थान पासपोर्ट पाएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम थप सात लाख राहदानी आपूर्ति गर्न फ्रान्सेली कम्पनी आईडीईएमआईए (IDEMIA) सँग गरिएको सम्झौतामध्ये पहिलो चरणमा झण्डै ४ लाख थान राहदानी विभाग आइपुगेको हो ।
ठुलो संख्यामा राहदानी प्राप्त भएसँगै विभागले अब पूर्ण क्षमतामा छपाइ (वैयक्तिकरण) गरेर सम्बन्धित जिल्ला, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा पठाउने तयारी गरेको छ ।
राहदानी वितरणको हालको अवस्थाबारे जानकारी दिँदै विभागले जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट कात्तिक १५ गतेसम्म आवेदन दिनेहरूको राहदानी पठाइसकिएको जनाएको छ । त्यस्तै, १५ मंसिरसम्म आवेदन दिएकाहरूको राहदानी छपाइ गरी पुस १५ गतेभित्र सम्बन्धित कार्यालयहरूमा पुर्याउने लक्ष्य राखिएको छ ।
१५ मंसिरपछि आवेदन दिनेहरूको हकमा भने १५ पुसदेखि क्रमैसँग छपाइ गरी पठाइने विभागले उल्लेख गरेको छ । विदेशस्थित नेपाली नियोगहरूमा आवेदन दिनेहरूको राहदानी पनि साविककै प्रक्रियाअनुसार छपाइ गरी पठाउने व्यवस्था मिलाइएको छ ।
विभागबाटै प्रत्यक्ष राहदानी लिन चाहने सेवाग्राहीका लागि मागअनुसार पर्याप्त 'एपोइन्टमेन्ट स्लट' उपलब्ध गराइने र सामान्यतया दुई कार्यदिनभित्रै राहदानी वितरण गरिने विभागको दाबी छ ।
सरकारले नयाँ पासपोर्ट छपाइका लागि जर्मन कम्पनीसँग सम्झौता गरे पनि सो कम्पनीले फेब्रुअरीको अन्त्य वा मार्चदेखि मात्र आपूर्ति सुरु गर्ने भएको छ । सो अवधिभन्दा अगावै बाँकी तीन लाख ४ हजार थान राहदानी पनि आइपुग्ने विभागले जनाएको छ ।
नयाँ कम्पनीबाट आपूर्ति सुरु हुनुअघि नै मौज्दात सकिने जोखिम देखिएपछि सरकारले पुरानै दररेट (प्रतिथान १० अमेरिकी डलर १३ सेन्ट) मा पासपोर्ट खरिद गरेको हो । नेपालमा हाल दैनिक ५ हजारभन्दा बढी र मासिक करिब एक लाख २० हजार थान राहदानीको माग रहेको छ ।
पछिल्लो अध्यावधिक: पुस ८, २०८२ २३:२४
