यातायात कार्यालयमा बिचौलियाको रजगज: ट्रायल पास गराइदिने भन्दै रकम असुल्ने १४ जना पक्राउ
पुस १०, २०८२ १०:३३
सांकेतिक तस्बिर
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न यातायात कार्यालय र ट्रायल सेन्टरहरूमा सेवाग्राहीलाई दुःख दिने र अवैध रूपमा रकम असुल्ने गरेको आरोपमा १४ जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार भक्तपुरको राधेराधे, काठमाडौँको गुर्जुधारा र दक्षिणढोकास्थित यातायात कार्यालय तथा ट्रायल सेन्टरहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा झमकलाल श्रेष्ठ, अनिमेष अवा, बासु खड्का, भीम बहादुर नेम्वाङ, प्रदीप श्रेष्ठ, शर्मिला चौलागाई, दीपा कटुवाल, दुर्गा प्रसाद न्यौपाने, रञ्जित महर्जन, अर्जुन चौधरी, दिवस लामा, सरोज ढुङ्गाना, सन्तोष स्याङ्तान र दिलिप खड्गी रहेका छन् ।
अनुसन्धानका क्रममा यी बिचौलियाहरूले लिखित तथा ट्रायल परीक्षामा फेल भएका परीक्षार्थीहरूलाई कार्यालयका कर्मचारीसँग आफ्नो सेटिङ रहेको भ्रम छर्दै पास गराइदिने प्रलोभनमा पारेर प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म लिने गरेको खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उनीहरूले मेडिकल जाँचमा फेल भएका व्यक्तिहरूलाई पास गराइदिने, लाइसेन्स प्रिन्ट र ब्लुबुक नवीकरण सहजै गराइदिने भन्दै सेवाग्राहीबाट अतिरिक्त रकम असुल्ने गरेको पाइएको छ ।
यातायात कार्यालयका कर्मचारीको दैनिक कार्यसम्पादनमा समेत बाधा पुर्याउने र सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
यातायात क्षेत्रमा हुने यस्ता बिचौलियाजन्य कार्यलाई निरुत्साहित गर्न प्रहरीले सक्रियता बढाएको जानकारी दिँदै अपराध अनुसन्धान कार्यालयले सेवाग्राहीलाई आधिकारिक प्रक्रियामार्फत मात्र सेवा लिन र बिचौलियाको प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।


पछिल्लो अध्यावधिक: पुस १०, २०८२ १०:४४
