तत्कालीन सञ्चारमन्त्री गुरुङले स्वीकारे- ‘सामाजिक सञ्जाल बन्द गर्नु गल्ती भयो’
पुस १०, २०८२ १४:२०
काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन गरिएको निर्णय समयका हिसाबले गल्ती भएको स्वीकार गरेका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले सामाजिक सञ्जाल उत्पादनको साधक बनेको समयमा बन्द गराउनु गल्ती भएको स्वीकारेका हुन् ।
“समयको हिसाबले गल्ती भयो । हामीले अहिलेको संसार बुझेका रहेनछौँ । मैले अलिअलि बुझेको तर, मैले मात्रै बुझेर भएन । सिङ्गो सरकार, पार्टीदेखि समाजले बुझ्नु पर्यो । अहिले सामाजिक सञ्जाल उत्पादकको साधन बनेको छ । त्यसैलाई प्रयोग गरेर कत्ति धेरैले आम्दानी गरिरहेका छन्,” गुरुङले भने ।
आम्दानीको मुख्य स्रोत भइसकेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा आफूहरूले हेक्का नराखेको स्वीकार्दै यही निर्णय युवा पुस्ताका लागि सफोकेसन (घुम्सिनु) बनेको बताएका छन् ।
गुरुङ सञ्चारमन्त्री हुँदा केपी शर्मा ओली नेतृत्वको सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध जेन–जी आन्दोलन चर्किएपछि फिर्ता लिइएको थियो ।
पछिल्लो अध्यावधिक: पुस १०, २०८२ १४:२०
