close

निर्वाचन लक्षित ‘सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ उद्घाटन, गलत सूचना रोक्न मेटासँग सहकार्य गरिने

टेकपाना टेकपाना

पुस ११, २०८२ १६:२६

निर्वाचन लक्षित ‘सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ उद्घाटन, गलत सूचना रोक्न मेटासँग सहकार्य गरिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई थप व्यवस्थित र सूचना प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ (ईआईडीसी) सञ्चालनमा ल्याएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक समारोहका बीच शुक्रबार उक्त केन्द्रको औपचारिक उद्घाटन गरे । 

विगतमा सञ्चालनमा रहेको मिडिया केन्द्रलाई परिमार्जन गरी नयाँ प्रविधिसहित निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरिएको हो । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो केन्द्रबाट निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधि, समाचार तथा सूचनाहरू एकीकृत र प्रभावकारी रूपमा सम्प्रेषण गरिनेछ । 

निर्वाचनको समयमा फैलिन सक्ने मिथ्या सूचना र भ्रमपूर्ण सामग्रीलाई निरुत्साहित गर्न आयोगले ‘इन्फर्मेसन इन्टिग्रिटी प्रोमोसन सेन्टर’ समेत स्थापना गर्ने भएको छ । यस केन्द्रमा सरकारका विभिन्न निकायका प्रतिनिधिहरू रहनेछन् । 

विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिपफेक प्रविधिको प्रयोगबाट सिर्जना गरिने गलत सामग्रीहरूले निर्वाचनको निष्पक्षतामा असर पार्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो संयन्त्र तयार पारिएको हो । यसले सामाजिक सञ्जालमा हुने गतिविधिलाई नजिकबाट निगरानी गर्ने, तथ्य जाँच गर्ने र सत्यतथ्य बाहिर ल्याउने काम गर्नेछ ।

प्रवक्ता भट्टराईका अनुसार सामाजिक सञ्जालमा फैलाइने फेक सामग्री र मिथ्या प्रचार रोक्न आयोगले फेसबुकको माउ कम्पनी मेटा लगायतका अन्य प्रविधि कम्पनीहरूसँग प्रत्यक्ष सहकार्य गर्ने तयारी गरेको छ । अनुगमनका क्रममा निर्वाचन आचारसंहिता विपरीत वा भ्रम फैलाउने खालका गतिविधिमा संलग्न भेटिएमा उक्त संयन्त्रले कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस समेत गर्नेछ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८२ १७:१८