आफ्नै सन्तानलाई सामाजिक सञ्जाल बढी प्रयोग गर्न दिंदैनन् युट्युबका सीईओ नील मोहन
पुस १२, २०८२ १२:३१
काठमाडौँ । युट्युबका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नील मोहनले बालबालिकाका लागि अनलाइन माध्यमको जोखिम बढ्दै गएको भन्दै आफ्नै सन्तानलाई सामाजिक सञ्जालको प्रयोगमा सीमा तोकेको खुलासा गरेका छन् । सन् २०२३ देखि युट्युबको नेतृत्व सम्हालेका मोहनले एक अन्तर्वार्ताका क्रममा आफ्ना छोराछोरीको मिडिया प्लेटफर्म प्रयोगलाई नियन्त्रण र सीमित गरिएको बताएका हुन् ।
“हामी उनीहरूले युट्युब, अन्य प्लेटफर्म र मिडियाका अन्य माध्यममा बिताउने समय नियन्त्रण गर्छौं । हप्ताका अन्य दिनमा हामी कडा नियम पालना गराउँछौं भने बिदाका दिन केही खुकुलो हुन्छौं,” हालै टाइम म्यागेजिनले पोस्ट गरेको भिडिओमा मोहनले भने ।
तीन सन्तानका बाबु मोहनले आफ्नी श्रीमतीसँग मिलेर अन्य अनलाइन सेवा र प्लेटफर्मको प्रयोगमा पनि यस्तै किसिमको सन्तुलन मिलाउने गरेको खुलाए ।
पछिल्लो समय विज्ञले स्मार्टफोन र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिका र किशोरकिशोरीमा पुर्याइरहेको गम्भीर असरबारे निरन्तर चेतावनी दिँदै आएका छन् । न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक तथा ‘द एन्सियस जेनेरेसन’का लेखक जोनाथन हाइटले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई स्मार्टफोन र १६ वर्ष नपुग्दै सामाजिक सञ्जालमा पहुँच दिन नहुने तर्क राख्दै आएका छन् । हाइटले स्मार्टफोन एउटा बहुउपयोगी उपकरण भए पनि यसले बालबालिकालाई बाहिरी दुनियाँको सीधा जोखिममा पार्ने भन्दै बरु कुराकानीका लागि सामान्य ‘फ्लिप फोन’ मात्र दिन सुझाव दिएका छन् ।
यसै सन्दर्भमा अष्ट्रेलिया १६ वर्ष मुनिका बालबालिकालाई मुख्य सामाजिक सञ्जाल प्रयोगमा औपचारिक प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बनेको छ । त्यहाँ गरिएको एक सर्वेक्षणमा ७७ प्रतिशत नागरिकले यो प्रतिबन्धको समर्थन गरेका थिए । यद्यपि यसको कार्यान्वयनमा केही अवरोध पनि देखिएका छन् ।
नील मोहनले युवा पुस्ताप्रति आफ्नो ‘परम जिम्मेवारी’ रहेको महसुस गर्दै अभिभावकलाई उनीहरूका सन्तानको गतिविधि नियन्त्रण गर्न थप शक्ति प्रदान गर्ने लक्ष्य राखेको बताए । सन् २०१५ मा गुगलको स्वामित्वमा रहेको युट्युबले बालबालिकाका लागि छुट्टै ‘युट्युब किड्स’ भर्सन सार्वजनिक गरेको थियो । मोहनको उद्देश्य प्रत्येक अभिभावकले आफ्नो घरको वातावरण र आवश्यकता अनुसार आफ्ना सन्तानको युट्युब प्रयोगलाई सहजै व्यवस्थापन गर्न सकून् भन्ने रहेको छ ।
उनले हरेक अभिभावकको आफ्नै हुर्काउने शैली हुने भएकाले प्रविधिले त्यसलाई सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गरे । आफ्ना सन्तानलाई प्रविधिको लतबाट जोगाउन खोज्ने मोहन एक्ला प्रविधि प्रमुख भने होइनन् ।
युट्युबकी पूर्व सीईओ सुसन वोजिस्कीले पनि आफ्ना छोराछोरीलाई सामान्य युट्युब एपको सट्टा ‘युट्युब किड्स’ मात्र चलाउन दिन्थिन् र उनीहरूको स्क्रिन समयमा कडा सीमा तोक्ने गर्थिन् । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्ना सन्तान १४ वर्ष नपुग्दासम्म मोबाइल फोन दिएका थिएनन् र खाना खाने टेबलमा फोन चलाउन पूर्ण प्रतिबन्ध लगाएका थिए । त्यसैगरी अर्बपति मार्क कुबनले त आफ्ना छोराछोरीले कुन एप चलाइरहेका छन् भनेर निगरानी गर्न र आवश्यक पर्दा इन्टरनेट गतिविधि बन्द गर्न विशेष राउटर र म्यानेजमेन्ट सफ्टवेयरको नै प्रयोग गर्ने गरेको बताएका छन् ।
पछिल्लो अध्यावधिक: पुस १२, २०८२ १२:३६
