केवाईसी ईभीसँग स्पेसिफिकेसन मिल्ने नियोसियाको आयात तथा बिक्रीवितरण नगर्न अन्तरकालीन आदेश
पुस १२, २०८२ १४:१८
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले केवाईसी (KYC) ब्रान्डका इलेक्ट्रिक भ्यान र सोही स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधनको आयात, आपूर्ति तथा बिक्री-वितरणमा रोक लगाएको छ । गएको मंगलबार अदालतले एक अन्तरकालीन आदेश जारी गर्दै केवाईसीसँग मोडेल, बनावट र प्राविधिक विशेषता मिल्ने 'नियोसिया' लगायतका गाडीहरूको कारोबार नगर्न आदेश जारी गरेको हो ।
देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम जारी गरिएको यस आदेशमा केवाईसी ब्रान्डका गाडी मात्र नभई, नाम परिवर्तन गरेर वा अन्य कम्पनी तथा व्यक्तिको नाममा उही स्पेसिफिकेसनका गाडी भित्र्याउने कार्यलाई समेत पूर्णतः रोक लगाइएको छ । यसअघि केवाईसीका गाडीहरूलाई नियोसिया ब्रान्डमा आयात गरी बिक्री गरिँदै आएको पाइएको थियो ।
अदालतले आफ्नो आदेशमा केवाईसी ब्रान्डका सवारीसाधन अन्य नामबाट उत्पादन, आपूर्ति वा बिक्री गर्दा करार सम्झौताको उल्लंघन हुने, बौद्धिक सम्पत्ति अधिकारको हनन हुने र उपभोक्ता हितमा गम्भीर क्षति पुग्ने उल्लेख गरेको छ ।
“चिनियाँ कम्पनीबाट उत्पादित केवाईसी ब्रान्डका गाडीसँग स्पेसिफिकेसन मिल्ने गाडीहरू निवेदक वादी बाहेक अन्य कम्पनी/व्यक्तिको नामबाट आपूर्ति तथा बिक्री-वितरण नगर्नु, नगराउनु र करार सम्झौता यथास्थितिमा राख्नू…,” आदेशमा भनिएको छ ।
मुद्दाको अन्तिम फैसला नआएसम्म यस्ता सबै गतिविधि रोक्न अदालतले विपक्षीहरूको नाममा निर्देशन दिएको छ ।
विवादित गाडीहरू केवाईसी ब्रान्डकै मोडेल र फिचरका भए पनि नियोसिया तथा नियोसिया स्टार भी ईभी नाममा आयात गरिएको दाबी गरिएको छ । यस प्रकरणमा 'इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि' र त्यसकै सञ्चालकहरूले स्थापना गरेको 'एम्बर मोटर्स प्रालि' संलग्न रहेको पाइएको छ ।
दुवै कम्पनीमा एउटै समूहको संलग्नता रहेकाले अदालतको अघिल्लो आदेशलाई छल्न नयाँ कम्पनीमार्फत गाडी आयात गरिएको आरोप छ ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८२ १४:३५
