रास्वपाबाट बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएसँगै अन्तर्राष्ट्रिय मिडियामा तरङ्ग, कसले के लेखे ?
पुस १४, २०८२ १४:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको राजनीतिक सहमतिले विश्वका चर्चित सञ्चार माध्यमहरूको ध्यान खिचेको छ । बालेन रास्वपामा आबद्ध भई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएपछि अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि चर्चा सुरु भएको हो ।
बीबीसी हिन्दीले बालेनको विस्तृत प्रोफाइल प्रकाशित गर्दै पछिल्लो तीन वर्षमा नेपाली राजनीतिमा उनको उदयको चर्चा गरेको छ । समाचारमा बालेन एक र्यापरबाट काठमाडौँको मेयर हुँदै कसरी प्रधानमन्त्रीको दाबेदारसम्म आइपुगे भन्ने विषय प्रस्तुत गरिएको छ । युवामाझ बालेन निकै लोकप्रिय रहेको र नयाँदिल्लीमा काम गरिरहेका नेपालीसँग कुराकानी गर्दा धेरैले उनकै नाम लिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
समाचार एजेन्सी रोयटर्सले बालेनलाई चर्चित पूर्व र्यापरको रूपमा चित्रण गर्दै उनी प्रधानमन्त्रीको चुनावी मैदानमा उत्रिएको समाचार लेखेको छ । गोपाल शर्माको बाइलाइन रहेको समाचारमा नेपालमा मार्च महिनामा हुने संसदीय चुनावअघि दुई लोकप्रिय नेताहरूले गठबन्धन बनाएका लेखिएको छ । यसले नेपालको राजनीतिमा तीन दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाइरहेका पुराना दलहरूलाई चुनौती दिने विश्लेषण गरिएको छ । बालेन र टिभी होस्टबाट राजनीतिज्ञ बनेका रवि लामिछानेको पार्टीबिच भएको यो सहमतिप्रति नेपालीहरू आशावादी रहेको रोयटर्सको खबरमा उल्लेख छ ।
बेलायतको ‘द गार्डियन’ ले नेपालमा युवाहरूको राजनीतिक विद्रोहपछि हुन लागेको पहिलो निर्वाचनमा चर्चित मेयर र पूर्वटेलिभिजन प्रस्तोताबिच सहकार्य भएको समाचारलाई मुख्य शीर्षक बनाएको छ । समाचारमा उनीहरूलाई नेपालका सबैभन्दा लोकप्रिय नेताको संज्ञा दिँदै जेनजी पुस्ताका माग सम्बोधन गर्ने नेतृत्वको रूपमा चर्चा गरिएको छ ।
रोयटर्सकै समाचार पोस्ट गर्दै द जापान टाइम्सले पनि यो विषयलाई महत्त्व दिएको छ । यसमा विश्लेषक तथा संविधानविद् विपिन अधिकारीको भनाइ राखिएको छ । अधिकारीले भनेका छन्, “बालेन र उनका युवा समर्थकलाई आफ्नो समूहमा ल्याउनु रास्वपाको एकदमै चलाख र रणनीतिक कदम हो ।” पुराना राजनीतिक दलहरू आफ्नै युवा युवा मतदाताको मत पनि रास्वपामा जाने डरमा रहेका उनको भनाइ छ ।
भारतीय अनलाइन मिडिया इन्डिया डटकमले भने बालेनलाई भारतविरोधी छविका नेताको रूपमा प्रस्तुत गर्दै उनी प्रधानमन्त्रीको उम्मेदवार बन्नुलाई चासोका साथ हेरेको छ । बालेनले कालापानी-लिपुलेकसहित सीमा विवादको बारेमा बारम्बार भारतविरोधी कडा अभिव्यक्ति दिएको उसले लेखेको छ । यद्यपि, बालेन चीन समर्थक भएको कुनै स्पष्ट सङ्केत भने नदेखिएको सो मिडियाले लेखेको छ ।
आउटलुक इन्डियाले यो सम्झौतालाई नेपाली राजनीतिको गेम चेन्जर भनेको छ । सोही समाचारमा उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङले बालेनसँग पटक-पटक वार्ता गरे तापनि हालसम्म आफ्नो राजनीतिक अडान स्पष्ट नपारिसकेको उल्लेख छ ।
त्यस्तै, सीएनबीसी टिभी १८ ले बालेनले कसरी नेपालको राजनीतिक नक्सा पुन: कोर्दैछन् भन्ने विषयमा विश्लेषणत्मक सामग्री तयार पारेको छ । नेपालको पुस्तागत राजनीतिमा बालेनको उदयले पार्टीगत राजनीतिमा ठुलो परिवर्तन ल्याउने र यसले परम्परागत शक्ति केन्द्रहरूलाई निकै दबाबमा पारेको समाचारमा विश्लेषण गरिएको छ ।
संयुक्त अरब इमिरेट्सको खालिज टाइम्स लगायत अन्य धेरै मिडियाले पनि बालेन र रास्वपाबिचको यो पछिल्लो राजनीतिक विकासक्रमलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।
पछिल्लो अध्यावधिक: पुस १४, २०८२ १५:३५
