महिलाको हातमा बारफोन/फिचर फोन दिएर आफू भने स्मार्टफोन चलाउँछन् नेपाली पुरुष !
पुस १५, २०८२ १८:२
एआई सिर्जित तस्बिर
काठमाडौँ । नेपालमा स्मार्टफोन प्रयोग गर्नेमा पुरुष अघि भए पनि बारफोन तथा फिचर फोनमा भर पर्ने मामिलामा भने महिला धेरै रहेको पाइएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको डिजिटल अर्थतन्त्रमा सञ्चार सम्पर्क र वित्तीय समावेशिता सम्बन्धी द ग्लोबल फिनडेक्स डेटाबेस २०२५ ले यस्तो तथ्य बाहिर ल्याएको हो ।
प्रतिवेदन अनुसार नेपालमा मोबाइल फोनको पहुँच महिलामा करिब ७८ प्रतिशत र पुरुषमा करिब ८१ प्रतिशत रहेको छ । समग्रमा महिला र पुरुषबिच मोबाइल फोनको पहुँच अन्तर करिब ३ प्रतिशत मात्रै भए पनि स्मार्टफोनको पहुँचमा भने भारी अन्तर देखिन्छ । सर्वेक्षण अनुसार करिब ६२ प्रतिशत पुरुषको हातमा स्मार्टफोन हुँदा कूल महिला जनसङ्ख्याको ४६ प्रतिशतसँग मात्रै स्मार्टफोनको पहुँच छ ।
तर बारफोन तथा फिचर फोनमा काम चलाउने पुरुष करिब १९ प्रतिशत मात्रै छन् । जब कि महिला तर्फ भने यसमा करिब २२ प्रतिशतको पहुँच छ । अर्थात् नेपालमा बारफोन तथा फिचर फोनमा निर्भर जनसङ्ख्या पुरुषको भन्दा महिलाको धेरै छ ।
यद्यपि मोबाइल फोनको पहुँचको हिसाबले नेपाली महिलाको स्थिति दक्षिण एसियाको सबैभन्दा राम्रो हो । महिलामा मोबाइल फोनको पहुँचको हिसाबले नेपाललाई पछ्याइरहेको बङ्गलादेशमा करिब ७२ प्रतिशत छ भने क्षेत्रीय स्तरमा सबैभन्दा कमजोर अवस्थामा रहेको पाकिस्तानमा करिब ३० प्रतिशत मात्र छ ।
तर पुरुष जनसङ्ख्यामा भने पाकिस्तान करिब ९५ प्रतिशत पहुँचका साथ दक्षिण एसियामै सबैभन्दा अगाडि छ । छिमेकी देश भारतमा भने करिब ७९ प्रतिशत पुरुष र करिब ५४ प्रतिशत महिलामा मात्रै मोबाइल फोनको पहुँच रहेको विश्व बैङ्कको प्रतिवेदनले जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १८:३४
