close

२ माघदेखि भरतपुरमा कृषि प्रविधि र नवप्रवर्तनको प्रदर्शनी ‘एग्रीटेक एक्स्पो’ हुँदै

टेकपाना टेकपाना

पुस १६, २०८२ ९:२४

२ माघदेखि भरतपुरमा कृषि प्रविधि र नवप्रवर्तनको प्रदर्शनी ‘एग्रीटेक एक्स्पो’ हुँदै

काठमाडौँ । चितवनको भरतपुरमा आगामी २ माघदेखि तीन दिन लामो ‘नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो’ आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा २ देखि ४ माघसम्म उक्त एग्रीटेक एक्स्पो आयोजना हुन लागेको हो ।

यस प्रदर्शनीमा कृषिलाई सहज बनाउन मद्दत पुर्‍याउने साना औजारदेखि डेरी मेसिनरी, पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठुला ठुला उपकरणहरूको प्रदर्शनी लगायत डेमो पनि गरिने बताइएको छ । उक्त प्रदर्शनीले नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सघाउने विश्वास लिएको आयोजकले जनाएको छ । 

यस प्रदर्शनीमा पशुपक्षी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउ बिजन, कृषि तालिम र वित्तीय सुविधाहरूका बारेमा जानकारी समेत प्राप्त गर्न सकिने बताइएको छ । 

प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । जहाँ नेपाल, भारत, चीन लगायतका विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरु रहने बताइएको छ । 

उक्त प्रदर्शनीमा देश-विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहनेछ । उक्त प्रदर्शनीको लागि स्टल बुकिङ भइरहेको आयोजकले जानकारी दिएको छ । 

 

 

पछिल्लो अध्यावधिक: पुस १६, २०८२ ९:२४