close

कन्टेन्ट क्रियटरलाई युट्युबले भन्दा धेरै पैसा दिने गरी नयाँ पेआउट योजना ल्याउने तयारीमा एक्स

टेकपाना टेकपाना

पुस १६, २०८२ १८:२९

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । टेस्ला, स्पेसएक्स, स्टारलिङ्क जस्ता कम्पनीका प्रमुख एलन मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा कन्टेन्ट क्रियटरहरूलाई युट्युबको तुलनामा बढी पारिश्रमिक दिने सङ्केत दिएका छन् । डिजिटल प्लेटफर्महरूबिच सक्कली, मानव-सिर्जित र आधिकारिक कन्टेन्टहरू जोगाउन प्रतिस्पर्धा चलिरहेका बेला मस्कको यो धारणा सार्वजनिक भएको हो ।

एक प्रयोगकर्ताले क्रियटरहरूलाई बढी भुक्तानी दिनुपर्ने माग गर्दै गरेको ट्वीटमा प्रतिक्रिया दिँदै मस्कले एक्सका हेड अफ प्रोडक्ट निकिता बियरलाई ट्याग गरेर भनेका छन्, "ठीक छ, यो काम गरौँ । तर प्रणालीको दुरुपयोग नहुने गरी कडाइका साथ लागु गरौँ ।" जवाफमा निकिता बियरले आफूहरू यसमा काम गरिरहेको र ९९ प्रतिशत ठगीलाई हटाउने नयाँ विधि आफूहरूसँग रहेको बताएका छन् ।

यसअघि अक्टोबर महिनामा पनि एक्सले आफ्ना क्रियटरहरूलाई अन्डरपे (थोरै भुक्तानी) गरिरहेको र भुक्तानीको बाँडफाँड पर्याप्त रूपमा सही नभएको मस्कले स्वीकार गरेका थिए । गुगलको स्वामित्वमा रहेको युट्युबसँग तुलना गर्दै उनले युट्युबले धेरै राम्रो काम गरिरहेको भन्दै एक्सले आफ्नो भुक्तानी प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । 

हाल इन्टरनेटमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा सिर्जना गरिएका सामग्रीहरूको बाढी आइरहेको छ । यस्तो समयमा लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) ले समेत इन्टरनेटका सामग्रीहरू उपभोग गरिरहेका छन् । जसले गर्दा आधिकारिक र सक्कली सामग्री उत्पादन गर्ने क्रियटरहरूलाई उचित भुक्तानी दिने प्लेटफर्महरू मात्र टिक्न सक्ने तर्क प्रयोगकर्ताहरूले गरेका छन् ।

मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेपछि एक्समा भेरिफाइड प्रयोगकर्ताहरूका लागि विज्ञापन आम्दानी बाँडफाँड कार्यक्रम सुरु गरेका थिए । जुन 'इन्गेजमेन्ट' मा आधारित छ । तर, यो प्रणालीमा केही गम्भीर समस्याहरू पनि देखिएका छन् । जसमा भुक्तानीमा हुने ढिलाइ हुने, आम्दानीमा एकरूपता नहुने, मनिटाइजेसनका मापदण्ड स्पष्ट नभएको, बट र कृत्रिम रूपमा इन्गेजमेन्ट बढाएर प्रणालीको दुरुपयोग हुने जस्ता जोखिम  छन् ।

एक्स भिडिओ सेयर गर्न र बिना सेन्सरशिप धेरै मानिसमाझ पुर्‍याउन प्रभावकारी प्लेटफर्म भए तापनि आर्थिक रूपमा यसले युट्युबको एडसेन्ससँग प्रतिस्पर्धा गर्न नसकेको निक्की श्री नाम गरेका क्रियटरले बताएका छन् । क्रियटरहरूले एक्समा भन्दा अन्य प्लेटफर्ममा समय खर्चिनु आर्थिक रूपमा फाइदाजनक ठान्ने गर्छन् । जसका कारण एक्समा कन्टेन्ट पोस्ट गर्ने क्रियटरहरू तुलनात्मक रूपमा थोरै छन् । मस्कको यो पछिल्लो कदमले भने क्रियटरहरूलाई आकर्षित गर्ने र बट-प्रेरित कन्टेन्टलाई निरुत्साहित गर्ने लक्ष्य राखेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १८:२९