close

ह्याप्पी बड्डे सुबिसु ! एकै केबुलबाट टिभी-इन्टरनेट दिने देशकै पहिलो कम्पनीको २५ वर्ष पुरा

टेकपाना टेकपाना

पुस १७, २०८२ १०:५

ह्याप्पी बड्डे सुबिसु ! एकै केबुलबाट टिभी-इन्टरनेट दिने देशकै पहिलो कम्पनीको २५ वर्ष पुरा

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सुबिसुले स्थापनाको २५ वर्ष पुरा गरेको छ । आज बिहीबार कम्पनीले सिल्भर जुब्ली अर्थात् रजत जयन्ती मनाउन लागेको हो । 

नेपालमा पहिलो पटक टेलिभिजन र इन्टरनेट सेवा एउटै केबल (कोएक्सेल केबल) मार्फत उपलब्ध गराउन सुरु गरेको सुबिसुको यात्राले २५ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सफल भयो ।

सुबिसु सुरु हुने समयमा नेपालमा टिभी र इन्टरनेट सेवा दिने प्रदायक छुट्टाछुट्टै कम्पनी हुन्थे । त्यसको लाइसेन्स जारी तथा नियमन पनि अलग किसिमले नियमन हुन्थ्यो । 

बजारमा टिभी च्यानल सेवा प्रदायक कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनी छुट्टा छुट्टै रूपमा थिए । तर, इन्टरनेट कम्पनीहरू डायलअप र वायरलेस प्रविधिमा थिए । केबल टेलिभिजन प्रणाली भने एकोहोरो प्रकृतिको ‘कोएक्सेल केबल’ मा चलिरहेको थियो ।

यसैबिच कोएक्सेल केबलमार्फत अमेरिकामा टिभी र इन्टरनेट एउटै तारबाट दिन सुरु भयो । त्यही प्रविधिलाई पछ्याउँदै सुबिसुले इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्रका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएर सन् २००४ मा केबल इन्टरनेट सेवा सुरु गर्न सफल  भयो । हुन त त्यसअघि नै सन् २००१ देखि नै कम्पनीले केबल टिभी सेवा प्रदायकको रूपमा काम गर्न थालिसकेको थियो ।

सन् २००६ मा सुबिसुले व्यापारिक कम्पनीहरूमा इन्टरनेट दिन थाल्यो ।  बैङ्कलगायतका ठुला संस्थाहरूलाई छतमा ठुलो छाता राखेर इन्टरनेट सेवा दिने काम सुबिसुले गर्थ्यो । एक हिसाबमा सुबिसुको यही प्रविधिले भीस्याट प्रविधिलाई नेपालबाट विस्थापित गर्‍यो । 

सुबिसुले सेवा दिन थालेको चार पाँच वर्षपछि भी-स्याटको आवश्यकता ८० देखि ९० प्रतिशतसम्म घट्न पुगेको थियो । प्रविधिमा परिवर्तन आएसँगै सन् २०१२ मा सुबिसुले आफ्नै डेटा सेन्टर सञ्चालनमा ल्यायो । बिजुलीको आवश्यकता बढी हुने केबल इन्टरनेट नेपालको माग अनुसार सुहाउँदो नदेखेपछि सुबिसुले सन् २०१५ पछि फाइबर इन्टरनेट सेवामा हात थाल्यो ।   

यसरी नेपालमा केबल इन्टरनेट सेवाको लाइसेन्स पाउने पहिलो कम्पनी बनेको सुबिसुले आज देशको फराकिलो क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद धेरै उतारचढाव पार गर्दै सुबिसु यहाँ आइपुगेको स्मरण गर्छन् । प्रविधिमा आएको परिवर्तनसँगै ग्राहकलाई गुणस्तरीय सेवा दिने उद्देश्य आत्मसात् गर्दै आफूहरू अघि बढ्न सफल भएको उनी बताउँछन् । 

"रिटेलमा झन्डै तीन लाख ग्राहक छन्, हाम्रो । ३,५०० जति इन्टरप्राइज अर्थात् कर्पोरेट ग्राहक छन् । एउटा कर्पोरेट ग्राहकले २०० देखि ३०० कनेक्सन दिन सक्छ । त्यसबाट हामीले करिब १५ हजार कनेक्सनलाई सेवा दिइरहेका छौँ," साउदले टेकपानासँग भने, "यसबिचमा हामीले हाम्रो प्राविधिक क्षमताको विस्तारमा पनि निकै ध्यान दिएका छौँ । फाइबरमा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनीमध्येमा सुबिसु पनि पर्छ ।"

साउदले अबको केही दिनमा सुबिसुले पनि वाई-फाई सिक्स प्रविधि ल्याउने तयारी गरिरहेको जानकारी दिए । सुबिसुले हाल प्रयोग गरिरहेको प्लेटफर्मले वाई-फाई सिक्स सपोर्ट गर्ने उनले बताए ।

"हामी पनि अब केही दिनमा वाईफाई सिक्स कनेक्सन दिन थाल्छौँ । आउने दिनहरूमा मानव स्रोतसाधनलाई अपग्रेड गर्न अलि बढी लगानी गर्दैछौँ । डेटा सेन्टरको व्यापारलाई थप आक्रामक बनाउने हाम्रो भावी योजना छ । हुन त हामीले भ्यालु एडेड सर्भिस पनि दिइरहेकै छौँ । त्यसलाई थप परिष्कृत गर्ने योजना छ । जस्तै: भीपीएस, ईमेलजस्ता सेवा, जो कर्पोरेट ग्राहकहरूले प्रयोग गरिरहेका छन्, त्यसलाई नेक्स्ट लेभलमा पुर्‍याउने योजना छ । त्यसमा लगानी थप्ने हाम्रो योजना छ," साउदले भने । 

कम्पनीले नेपाल सरकारको डिजिटल नेपालको अवधारणामा तालमेल मिलाएरै अघि बढ्ने योजना बनाएको छ । ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै अघि बढ्ने सुबिसुले जनाएको छ । 

त्यसैगरी, पछिल्लो समय ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी विवाद अदालतबाट निरूपण भएर बक्यौता तिर्नुपरेपछि सुबिसु पनि समस्यामा परेको थियो । जसका कारण अझै पनि कम्पनीलाई वित्तीय दबाब परिरहेको छ । 

सीईओ समेत रहेका साउद सरकारले इन्टरनेट सेवा प्रदायकहरूबिच मर्जर तथा एक्विजिसनसम्बन्धी नीति ल्याउन ढिलाई गर्न नहुने बताउँछन् । "धेरै आईएसपीहरू समस्यामा छन् । त्यसलाई केही हदसम्म सम्बोधन गर्न सरकारले आईएसपीहरूको मर्जर तथा एक्विजिसिनका लागि आवश्यक नीति छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याएर सहजीकरण गर्नुपर्छ । किनभने अझै पनि वित्तीय चुनौती सहज बनिसकेको छैन ।"

पछिल्लो अध्यावधिक: पुस १७, २०८२ १०:५५