close

इतिहासमै पहिलो पटक ५०% वृद्धिका साथ अनरले एक वर्षमै बेच्यो ७ करोड १० लाखभन्दा बढी स्मार्टफोन

टेकपाना टेकपाना

पुस १७, २०८२ ११:१०

इतिहासमै पहिलो पटक ५०% वृद्धिका साथ अनरले एक वर्षमै बेच्यो ७ करोड १० लाखभन्दा बढी स्मार्टफोन

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी अनरले सन् २०२५ मा स्मार्टफोन बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीको कार्यकारी व्यवस्थापन टोलीले नयाँ वर्षको शुभकामनासँगै भर्खरै अन्त्य भएको वर्ष ७ करोड १० लाख युनिटभन्दा बढी स्मार्टफोन बिक्री भएको जानकारी दिएको हो ।

कम्पनीको यो विक्री अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतको वृद्धि भएको ह्वावे सेन्ट्रलले उल्लेख गरेको छ । अनरले उपभोक्ता बजारमा पहिलो पटक यति ठुलो सङ्ख्यामा स्मार्टफोन ढुवानी गर्न सफल भएको हो । सबै डिभाइसमा शक्तिशाली ब्याट्री (bigger batteries in all devices) राख्ने गेम-चेन्जिङ योजनालाई यस सफलताको मुख्य श्रेय दिइएको छ । कम्पनीका अनुसार विश्वव्यापी रूपमा फोन बिक्रीमा ९ प्रतिशतको वृद्धि भएको छ ।

चीनमा आफ्नो मुख्य व्यवसायलाई स्थिर राख्न सफल भएको अनरले अन्तर्राष्ट्रिय बजारमा भने चामत्कारिक प्रगति गरेको छ । वैदेशिक बिक्री ४७ प्रतिशतले बढेको छ भने कम्पनीको इतिहासमा पहिलो पटक कूल बिक्रीको ५० प्रतिशतभन्दा बढी हिस्सा वैदेशिक बजारले ओगटेको छ ।

अनरका म्याजिक (Magic) फोनहरू १७ भन्दा बढी देशहरूमा लोकप्रिय बनेका छन् । जुन १० प्रतिशत बजार हिस्सासहित १ करोडभन्दा बढी युनिट बिक्री भएका छन् । विशेष गरी अनर म्याजिक भी ३ (Honor Magic V3) फोल्डेबल डिभाइसले डिसेम्बरको कूल बिक्रीमा २१ प्रतिशत हिस्सा ओगटेको थियो ।

रोचक कुरा के छ भने अनरले फोल्डेबल फोन बिक्रीमा पहिलो पटक सामसङलाई समेत पछि पारेको छ । अमेरिकाको बजारमा अनरले ६ प्रतिशत हिस्सा ओगटेको छ भने म्याजिक भी ३ को हिन्जमा सामसङका लागि एउटा सानो व्यङ्ग्यात्मक सन्देश समेत कुँदिएको थियो ।

साउदी अरबमा मात्रै अनरका २ करोड युनिट फोन बिक्री भएका छन् । मध्य पूर्व र अफ्रिकी देशहरूमा पनि कम्पनी नयाँ सेल्स रेकर्ड कायम गर्ने दिशामा छ । पश्चिमी युरोप र ल्याटिन अमेरिकामा पनि कम्पनीले तीव्र विस्तार गरिरहेको छ ।

कम्पनीले एआई र सफ्टवेयरमा गरेको लगानीलाई पनि यस सफलताको कडी मानेको छ । एन्ड्रोइड १५ मा आधारित र एआईद्वारा सञ्चालित म्याजिक ओएस ९.० प्रणालीले प्रयोगकर्तालाई आकर्षित गरेको छ ।

अनरका सीईओ झाओ मिङका अनुसार कम्पनीले सन् २०२४ को फेब्रुअरीमा म्याड्रिडमा एक महत्त्वाकाङ्क्षी घोषणा गरेका थिए । त्यसैअनुसार कम्पनीको तीन वर्षे अन्तर्राष्ट्रिय विस्तार योजना प्रभावकारी रूपमा अघि बढिरहेको छ ।

सन् २०२६ मा कम्पनीले एआई उत्पादन, युवा लक्षित डिजाइन, प्रिमियम डिभाइस र इनोभेसनमा थप केन्द्रित हुने लक्ष्य राखेको छ । सन् २०२५ मा कम्पनीले कीर्तिमानी नाफा कमाउने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस १७, २०८२ ११:१०