close

ग्राहक सेवालाई सहज बनाउन नेपाली एआई ‘टिङटिङ नेक्स्ट’ सार्वजनिक

टेकपाना टेकपाना

पुस १७, २०८२ १७:४९

ग्राहक सेवालाई सहज बनाउन नेपाली एआई ‘टिङटिङ नेक्स्ट’ सार्वजनिक

काठमाडौँ । एआई टेलिफोनी सेवा प्रदायकको रूपमा चिनिएको टिङटिङले आफ्नो नयाँ उत्पादन टिङटिङ नेक्स्ट (TingTing Next) सार्वजनिक गरेको छ । बुधबार एक भर्चुअल कार्यक्रममार्फत कम्पनीले ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यो प्रविधि बजारमा ल्याएको हो ।

आधुनिक व्यवसायहरूमा ग्राहक र कम्पनीबिचको संवाद केवल डेटामा मात्र सीमित हुने समस्यालाई समाधान गर्न यो प्रविधि निर्माण गरिएको कम्पनीले जनाएको छ । धेरैजसो प्रविधिले कम्पनी कसरी बोल्छ भन्नेमा ध्यान दिने भए पनि टिङटिङले कम्पनीले ग्राहकलाई कसरी बुझ्छ भन्ने कुरालाई प्राथमिकता दिएको छ ।

यसलाई कम्पनीले ह्युमन-एआई एम्प्लिफिकेसन (Human-AI Amplification) को दिशामा एक महत्त्वपूर्ण पाइला भनेको छ । यो प्रणालीको मुख्य विशेषता रिरी (Riri) नामक टेक्स्ट-टु-स्पिच इन्जिन हो । नेपालमै तयार पारिएको यसले विश्वव्यापी एआई मोडेलहरूको जस्तो रोबोटिक वा विदेशी लवजमा नभई, मौलिक नेपाली लवज र भावनामा आधारित रहेर कुराकानी गर्छ ।

यस पटकको लन्चमा 'टिङटिङ एजेन्ट' मुख्य आकर्षणको रूपमा रहेको छ । यसले पुरानो शैलीको 'सपोर्टका लागि १ थिच्नुहोस्' भन्ने झन्झटिलो मेनुलाई पूर्ण रूपमा हटाएर मानिसले जस्तै प्राकृतिक रूपमा दुईतर्फी कुराकानी गर्न सक्छ । यो एजेन्टले २०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज र आशय बुझेर प्रतिक्रिया दिन सक्ने क्षमता राख्ने दाबी गरिएको छ ।

यसका साथै कम्पनीले टिङटिङ टेक्स्ट र टिङटिङ फर्म्स पनि अगाडि सारेको छ । टिङटिङ टेक्स्टले नेपालको ठुलो एसएमएस पूर्वाधार स्प्यारो एसएमएस प्रयोग गरी महत्त्वपूर्ण सूचनाहरू लाखौँ प्रयोगकर्तासम्म छिटो पुर्‍याउँछ भने 'टिङटिङ फर्म्स' मार्फत ग्राहकले बोलेरै आफ्ना प्रतिक्रियाहरू दिन सक्छन् ।

कम्पनीका अनुसार एआईले बोलेको नेपालीलाई तुरुन्तै व्यवस्थित डेटामा रूपान्तरण गरिदिने हुनाले अब झन्झटिला डिजिटल फारामहरू भर्नुपर्ने आवश्यकता पर्दैन । उच्च सुरक्षा मापदण्ड र सेल्फ-हिलिङ क्षमतासहितको यो प्लेटफर्मले नेपालमै विश्वस्तरीय र भरपर्दो प्रविधि निर्माण सम्भव छ भन्ने कुरा प्रमाणित गरेको दाबी कम्पनीले गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस १७, २०८२ १८:१८