नेपाल प्रहरीको एपमा ५ वर्षअघि गरिएको ‘व्यङ्ग्यात्मक’ रिभ्यु अन्तर्राष्ट्रियस्तरमै भाइरल
पुस १८, २०८२ १२:३२
काठमाडौँ । सामान्यतः गुगल प्लेस्टोरमा कुनै पनि मोबाइल एपबारे दिइने रिभ्युमा प्रयोगकर्ताले आफ्ना अनुभव, समस्या वा सुझाव उल्लेख गर्छन् । तर, नेपाल प्रहरीको आधिकारिक मोबाइल एपमा पाँच वर्षअघि एक युवकले गरेको एउटा रोचक र व्यङ्ग्यात्मक रिभ्यु अहिले अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेको छ ।
सामाजिक सञ्जालमा चर्चा पाइरहेको उक्त रिभ्यु प्रविन अग्रवाल नामका युवकले २३ जुन २०२१ मा लेखेका थिए । उनले प्रहरीको एपलाई ‘फाइभ स्टार’ रेटिङ दिँदै प्रहरी हिरासतको अनुभवलाई निकै रोचक ढंगले प्रस्तुत गरेका छन् ।
अग्रवालले रिभ्युमा लेखेका छन्, “मान्छे कुटेर प्रहरीको फन्दामा परेको थिएँ, तर उनीहरूले मलाई निकै राम्रो व्यवहार गरे । हिरासतका कोठाहरू फराकिला र सफा छन् । खाना ठिकै थियो, तर दिनको तीनै पटक भात खाँदा अलि दिक्क लाग्ने रहेछ । हत्कडीमा अलिअलि खिया लागेको भए पनि त्यसले आफ्नो काम राम्ररी नै गरिरहेको थियो । प्रहरी अधिकारीहरू निकै मिलनसार छन् । समग्रमा भन्नुपर्दा, अनुभव राम्रै रह्यो ।”
यो व्यङ्ग्यात्मक टिप्पणीले अहिले विश्वव्यापी रूपमा ‘मिम’को रूप लिएको छ । विशेष गरी चर्चित अन्तर्राष्ट्रिय कन्टेन्ट क्रियटर ‘प्रोजेक्ट नाइटफल’ ले यस रिभ्युलाई आफ्नो सामग्रीमा स्थान दिएपछि यसले थप चर्चा पाएको हो । नेपाली मिम पेजले पनि यसलाई व्यापक स्थान दिएका थिए । प्रहरीको आधिकारिक एपमै ‘यस्तो रिभ्य कसले गर्छ भन्ने ठानी’ जाँच गर्नेहरू पनि तमाम् भेटिएका छन् ।
हालसम्म ११ सयभन्दा बढी प्रयोगकर्ताले उक्त रिभ्युलाई ‘उपयोगी’ भनी मार्क गरेका छन् । गम्भीर विषयमा पनि ह्युमर मिसाएर लेखिएको यो रिभ्युले नेपाली प्रयोगकर्तामाझ मात्र नभई विश्वभरका इन्टरनेट प्रयोगकर्तालाई मनोरञ्जन दिइरहेको छ ।
पछिल्लो अध्यावधिक: पुस १८, २०८२ १४:५०
