close

इसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दीपेन्द्र सिंह ऐरीको निरन्तरता

टेकपाना टेकपाना

पुस १८, २०८२ १६:४३

इसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दीपेन्द्र सिंह ऐरीको निरन्तरता

काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड प्रवर्द्धकमा पुनः अनुबन्ध गरेको छ ।

ललितपुरको पुल्चोकस्थित इसेवा मनि ट्रान्सफरको प्रधान कार्यालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमबिच सम्झौता नवीकरण गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र खेलाडी ऐरीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीको कार्यकाललाई कम्पनीले पुनः निरन्तरता दिएको हो । नयाँ सम्झौता अनुसार ऐरीले इसेवा मनि ट्रान्सफरले प्रदान गर्दै आएको डिजिटल रेमिट्यान्स सेवाको प्रचारप्रसार गर्नुका साथै सुरक्षित र भरपर्दो माध्यमबाट पैसा पठाउनका लागि जनचेतना जगाउन सक्रिय भूमिका निर्वाह गर्नेछन् ।

सम्झौतापछि खुसी व्यक्त गर्दै ऐरीले भने, “इसेवा मनि ट्रान्सफर जस्तो डिजिटल प्रविधिलाई आत्मसात गर्ने संस्थासँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा म निकै खुसी छु । सुरक्षित माध्यमबाट देशमा पैसा पठाउनका लागि सचेतना फैलाउन म प्रतिबद्ध रहनेछु ।”

कार्यक्रममा कम्पनीका सीईओ कोइरालाले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउन योगदान दिएका प्रतिभाशाली र अनुशासित व्यक्तित्वलाई ब्रान्डसँग पुनः जोड्न पाउनु गर्वको विषय भएको बताए । उनले ऐरीको संलग्नताले डिजिटल रेमिट्यान्सको प्रवर्द्धनमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इसेवा मनि ट्रान्सफर नेपालको चर्चित फिनटेक ग्रुप एफवन सफ्टअन्तर्गतको भगिनी कम्पनी हो । यसले इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र देशभर रहेका भुक्तानी केन्द्रमार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । एफवान सफ्टले हाल एक लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सेवा दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८२ १६:५२