भेनेजुएलामाथिको अमेरिकी आक्रमण र राष्ट्रपति मदुरोको गिरफ्तारीलाई किन अस्वीकार गर्दैछ च्याटजीपीटी ?
पुस २०, २०८२ १३:२७
काठमाडौँ । २०२६ को सुरुवातसँगै भेनेजुएलाको राजधानी कराकासमा भएको अमेरिकी सैन्य कारबाही र राष्ट्रपति निकोलस मदुरोको गिरफ्तारीले विश्वलाई स्तब्ध बनाएको छ । तर, यो ऐतिहासिक घटनालाई लिएर विश्वका प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटहरूले दिएको प्रतिक्रिया भने निकै विरोधाभासपूर्ण र विवादास्पद देखिएको छ ।
३ जनवरी २०२६ को बिहान स्थानीय समय अनुसार करिब २ बजे कराकासको आकाशमा अमेरिकी हेलिकोप्टरहरू उडेको र जमिनमा ठुला विस्फोटका आवाजहरू सुनिएको थियो । त्यसको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी ‘पक्राउ परेको र देश बाहिर लगिएको’ जानकारी दिएका थिए । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पनि मदुरो र उनकी पत्नीमाथि न्युयोर्कको दक्षिणी जिल्ला अदालतमा अभियोग लगाइएको र उनीहरूले चाँडै अमेरिकी अदालतमा न्यायको सामना गर्ने पुष्टि गरिन् ।
तर ब्रेकिङ न्युजको सन्दर्भमा प्रमुख च्याटबटहरूको क्षमता परीक्षण गर्दा नतिजाहरू अत्यन्तै भिन्न पाइएको छ । गुगलको जेमनाई ३ ले यो आक्रमण भएको पुष्टि गर्दै यसका पछाडिका कारणहरू (नार्कोटोरिजमको दाबी र तेल भण्डारमा पहुँचको दाउ) सहित १५ ओटा विभिन्न स्रोतहरूको हवाला दिएर सही जानकारी दियो ।
त्यस्तै, एन्थ्रोपिकको क्लाउड सोनेट ४.५ ले सुरुमा आफ्नो 'नलेज कटअफ' (जनवरी २०२५) का कारण जानकारी नभएको बताए पनि तत्कालै इन्टरनेट सर्च गरेर १० ओटा समाचार स्रोतहरूको आधारमा घटनाको सटीक सारांश प्रस्तुत गर्यो ।
तर ओपनएआईको च्याटजीपीटी (मोडेल ५.१ र ५.२) ले भने अमेरिकाबाट भेनेजुएलामाथि भएको सैन्य कारबाहीको विषयलाई पूर्ण रूपमा अस्वीकार गर्यो । यसले प्रयोगकर्तालाई उल्टै सम्झाउँदै भन्यो, “अमेरिकाले भेनेजुएलामाथि प्रत्यक्ष सैन्य आक्रमण गरेको छैन । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई अमेरिकाले पक्राउ गरेको पनि छैन ।”
यसले वास्तविक समाचारलाई भ्रामक र सामाजिक सञ्जालको अफवाहको संज्ञा दियो । त्यस्तै एआई सर्च प्लेटफर्म पर्पेप्लेक्सिटीले पनि प्रयोगकर्ताको प्रश्नलाई आधारहीन भन्दै मदुरो अझै राष्ट्रपति रहेको र यस्ता दाबीहरू गलत भएको बतायो ।
च्याटबटहरूले गलत जानकारी दिनुको मुख्य कारण उनीहरूको नलेज कटअफ (Knowledge Cutoff) हो । अर्थात् यस्ता एआई मोडेललाई तालिम दिइएको अन्तिम समय । च्याटजीपीटी (५.१) को नलेज कटअफ ३० सेप्टेम्बर, २०२४ सम्म मात्र छ भने च्याटजीपीटी ५.२ को ३१ अगस्ट, २०२५ सम्म छ ।
जेमिनाई र क्लाउडले इन्टरनेटमा रियल-टाइम पहुँच राख्न सक्ने हुनाले उनीहरूले ताजा घटनाक्रम अपडेट गर्न सकेका हुन् । एक्स एआई समेत यो मामिलामा सही जानकारी दिन सक्षम रहेको देखियो ।
कग्निटिभ वैज्ञानिक ग्यारी मार्कसका अनुसार लार्ज ल्याङ्ग्वेज मोडेलहरू (LLM) अतीतमा अड्किएका हुन्छन् र उनीहरूसँग आलोचनात्मक सोच्ने वा नवीनतालाई बुझ्ने क्षमता हुँदैन । उनले यस्ता अविश्वसनीय एआईमा भर नपर्न चेतावनी समेत दिएका छन् ।
यद्यपि, अक्टोबरमा सार्वजनिक भएको 'पिउ रिसर्च सेन्टर'को सर्वेक्षण अनुसार ७५ प्रतिशत अमेरिकीहरूले समाचारका लागि एआईमा कहिल्यै भर नपर्ने बताएका छन् भने केवल ९ प्रतिशतले मात्र यसलाई कहिलेकाहीँ समाचार स्रोतको रूपमा प्रयोग गर्छन् । च्याटबटहरू जतिसुकै आत्मविश्वासका साथ प्रस्तुत भए पनि उनीहरू गलत हुन सक्छन् भन्ने तथ्य यस घटनाले पुनः प्रमाणित गरेको छ ।
पछिल्लो अध्यावधिक: पुस २०, २०८२ १३:२७
