काठमाडौँ । नेपाली राजनीतिज्ञको लोकप्रियता मापन गर्ने अनलाइन प्लेटफर्म ‘रेटमाईनेता’मा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सबैभन्दा लोकप्रिय देखिएका छन् । सार्वजनिक रूपमा उपलब्ध प्लेटफर्मको तथ्याङ्क अनुसार सात हजार ५०० भन्दा बढी कुल भोटमध्ये ९७ प्रतिशत ‘अपभोट’ (सकारात्मक) प्राप्त गर्दै हमाल लोकप्रियताको शीर्ष स्थानमा रहेका हुन् । उनले सात हजार ३०० भन्दा बढी सकारात्मक र २५६ नकारात्मक भोट पाएका छन् ।
लोकप्रियताको दोस्रो सूचीमा ९५ प्रतिशत एप्रुभल रेटिङसहित सागर ढकाल रहेका छन् । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका उनले कुल ६ हजार ९०० भोटमध्ये ६ हजार ५०० सकारात्मक र ३४१ नकारात्मक भोट प्राप्त गरेका छन् ।
९४ प्रतिशत एप्रुभल रेटिङसहित रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठ तेस्रो स्थानमा छिन् । उनले कुल आठ हजार ७०० भोटमध्ये आठ हजार २०० भन्दा बढी सकारात्मक र ५०९ नकारात्मक भोट पाएकी छिन् ।
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ९४ प्रतिशत एप्रुभल रेटिङका साथ चौथो स्थानमा रहेका छन् । उनको कुल नाै हजार १०० भोटमध्ये आठ हजार ६०० सकारात्मक र ५३५ नकारात्मक भोट छ ।
त्यसैगरी ९२ प्रतिशत एप्रुभल रेटिङसहित रास्वपाकी नेतृ सोविता गौतम पाँचौँ स्थानमा छिन् । उनले कुल ६ हजार ९०० भोटमध्ये ६ हजार ३०० बढी अपभोट र ५६४ डाउनभोट प्राप्त गरेकी छिन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ९० प्रतिशत रेटिङसहित छैटौँ स्थानमा छन् । उनले ६ हजार ७०० भोटमध्ये ६ हजार १०० सकारात्मक र ६४३ नकारात्मक भोट पाएका छन् ।
यस्तै सातौँ स्थानमा रहेकी रास्वपाकी निशा डाँगीले ८९ प्रतिशत र आठौँ स्थानका हरि ढकालले ८८ प्रतिशत एप्रुभल रेटिङ पाएका छन् । सात हजार २०० भोटमध्ये ६ हजार ३०० सकारात्मक र ८८३ नकारात्मक भोटका साथ रास्वपाकै डा. तोषिमा कार्की नवौँ स्थानमा छिन् भने ८७ प्रतिशत रेटिङसहित सोही पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले १०औँ स्थानमा परेका छन् । वाग्लेले सात हजार ३०० भोटमध्ये ६ हजार ४०० बढी सकारात्मक र ९२२ नकारात्मक भोट पाएका छन् ।
धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले ८६ प्रतिशत एप्रुभल रेटिङ पाएका छन् । उनले आठ हजार ५०० भोटमध्ये सात हजार ३०० बढी सकारात्मक र एक हजार २०० बढी नकारात्मक भोट पाएका छन् ।
रास्वपा सभापति रवि लामिछानेको एप्रुभल रेटिङ ७८ प्रतिशत रहेको छ, जसमा आठ हजार ३०० भोटमध्ये सात हजार ५०० बढी सकारात्मक र एक हजार ९०० बढी नकारात्मक भोट छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतामध्ये ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीको ७४ प्रतिशत, अध्यक्ष राजेन्द्र लिङ्देनको ७० प्रतिशत र रवीन्द्र मिश्रको ६९ प्रतिशत एप्रुभल रेटिङ रहेको छ । नेकपा (एमाले) की नेतृ विद्या भट्टराईले ६७ प्रतिशत एप्रुभल रेटिङ प्राप्त गरेकी छिन् ।
तथ्याङ्क अनुसार ठुला दलका शीर्ष नेताको लोकप्रियता निकै कमजोर देखिएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एप्रुभल रेटिङ १० प्रतिशत मात्र छ, जहाँ आठ हजार ९०० भोटमध्ये आठ हजार बढी नकारात्मक भोट परेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको एप्रुभल रेटिङ २ प्रतिशत मात्रै रहेको छ । उनले कुल नाै हजार २०० भोटमध्ये ९ हजारभन्दा बढी नकारात्मक भोट पाएका छन् । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा दुवैको एप्रुभल रेटिङ केवल १ प्रतिशत रहेको छ । देउवाले ९ हजार भोटमध्ये ८ हजार ९ सय नकारात्मक र राणाले आठ हजार ८०० भोटमध्ये आठ हजार ७०० बढी नकारात्मक भोट पाएका छन् ।
‘रेटमाईनेता’ एक यस्तो खुला प्लेटफर्म हो, जहाँ सर्वसाधारणले आफैँ अकाउन्ट बनाएर नेताको काम र व्यवहारको आधारमा सकारात्मक (अपभोट) वा नकारात्मक (डाउनभोट) गर्न सक्छन् । यसै भोटिङको प्रतिशतका आधारमा नेताको एप्रुभल रेटिङ तय गरिने गरिन्छ ।
पछिल्लो अध्यावधिक: पुस २१, २०८२ २०:१६
