सामाजिक सञ्जाल पिनट्रेस्ट खरिद गर्ने तयारीमा च्याटजीपीटी निर्माता ओपन एआई !
पुस २३, २०८२ १०:३२
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा अग्रणी मानिएको कम्पनी ओपनएआईले सामाजिक सञ्जाल प्लेटफर्म पिनट्रेस्ट खरिद गर्न सक्ने चर्चा सुरु भएको छ । द इन्फर्मेसनले प्रकाशित गरेको प्रिडिक्सन पोस्ट नामक रिपोर्टले ओपनएआईले आफ्नो डेटा पहुँचलाई थप बलियो बनाउन यस्तो कदम चाल्न सक्ने देखिएको हो ।
यो समाचार बाहिरिएपछि ओपनएआईको स्टक मूल्यमा ३ प्रतिशतले वृद्धि समेत देखिएको छ । यो सम्भावित खरिदको मुख्य उद्देश्य मानव-निर्मित डेटा माथि नियन्त्रण जमाउनु हो । विशेष गरी उत्पादन खोजसँग सम्बन्धित डेटाले च्याटजीपीटीलाई एउटा शक्तिशाली शपिङ टुलको रूपमा विकास गर्न मद्दत पुर्याउनेछ ।
यसले कम्पनीका लागि विज्ञापन आयका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । हाल ओपनएआई मेटा (फेसबुक/इन्स्टाग्राम), एक्सएआई (एलन मस्कको एक्स) र गुगल जस्ता आफ्ना मुख्य प्रतिस्पर्धीहरूको तुलनामा एक किसिमको बेफाइदामा रहेको देखिन्छ । यी प्रतिस्पर्धीहरूसँग आफ्नै सामाजिक सञ्जाल वा सर्च नेटवर्कहरू छन्, जसका कारण उनीहरूले रियल-टाइम युजर इन्साइट सिधै प्राप्त गर्छन् । अर्कोतर्फ ओपनएआईले च्याटजीपीटीलाई तालिम दिन थर्ड-पार्टी डेटामा भर पर्नुपर्ने बाध्यता छ ।
डेटाको यो खाडल पुर्न ओपनएआईले हालसम्म विभिन्न सञ्चार माध्यमहरूसँग महँगो सम्झौता गरेको छ । जसमा न्युज कर्प र कन्डे नास्टसँग भएका सम्झौता र डिज्नीसँग भएको सम्झौता छन् । डिज्नीसँगको पछिल्लो साझेदारीले सोरा र च्याटजीपीटी प्रयोगकर्ताहरूलाई डिज्नी क्यारेक्टरहरूको एआई चित्रण सिर्जना गर्ने अनुमति दिन्छ ।
तर, यस्ता लाइसेन्स सम्झौताहरू निकै महँगो हुने भएकाले एउटा आफ्नै सामाजिक सञ्जाल एप हुनु ओपनएआईका लागि दीर्घकालीन रूपमा फाइदाजनक हुनेछ ।
पिनट्रेस्ट हाल एउटा बलियो व्यवसायको रूपमा स्थापित छ र यसका ६० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् । यो प्लेटफर्मले आफ्नै उत्कृष्ट एआई टुल र प्रोडक्ट सर्च एल्गोरिदम विकास गरेको छ । जसले अनलाइन शपिङ र सर्चको क्षेत्रमा यसलाई एक महत्त्वपूर्ण माध्यम बनाएको छ ।
यदि यो मर्जर सफल भयो भने, दुवै कम्पनीले आ-आफ्नो क्षेत्रका प्रतिस्पर्धीहरूसँग लड्न एक बलियो आधार प्राप्त गर्नेछन् । ओपनएआईका लागि मुख्य जोखिम भनेको आफ्नो ठुलो खर्चलाई धान्न सक्ने गरी छिटो मनिटाइजेसन गर्नु हो । यदि डेटाको प्रवाहमा सुधार भएन भने प्रतिस्पर्धीहरूले यसलाई पछि पार्न सक्ने सम्भावना रहन्छ ।
पछिल्लो अध्यावधिक: पुस २३, २०८२ १०:३४
