ह्याकरलाई एलन मस्कको ओपन च्यालेन्ज- ‘एक्सको नयाँ इन्क्रिप्टेड च्याट सिस्टम ह्याक गरेर देखाऊ’
पुस २६, २०८२ १५:२९
काठमाडौँ । सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले आफ्नो प्लेटफर्मको नयाँ ‘इन्क्रिप्टेड च्याट’ फिचरलाई चुनौती दिँदै यसलाई ह्याक गर्न विश्वभरका ह्याकरलाई आह्वान गरेका छन् । यो नयाँ च्याट सिस्टम समावेश गरिसकेपछि त्यसको सुरक्षाका विषयमा प्रश्न उठेपछि मस्कले यस्तो आह्वान गरेका हुन् ।
तर, अचम्मको कुरा के छ भने, यो चुनौती सफलतापूर्वक पूरा गर्ने ह्याकरलाई कुनै पनि पुरस्कार वा रकम दिने वाचा भने गरिएको छैन । प्रविधि क्षेत्रमा कुनै पनि एप वा वेबसाइटमा रहेका सुरक्षा कमजोरी (बग) पत्ता लगाउने ह्याकरलाई ‘बग बाउन्टी’ मार्फत ठुलो रकम दिने प्रवृत्ति छ । कतिपय व्यावसायिक ह्याकरले यस्तै कमजोरी पत्ता लगाएर एकै हप्तामा करोडौं रुपैयाँसम्म कमाउने गरेका छन् । यस्तो अवस्थामा मस्कले भने ह्याकरलाई ‘स्वयंसेवक’ बनेर काम गर्न आग्रह गरेका हुन् ।
के हो एक्स च्याट फिचर ?
हाल ‘बेटा भर्सन’ मा रहेको ‘एक्स च्याट’ लाई मस्कले ‘पृथ्वीकै सञ्चार प्रणाली’ बनाउने लक्ष्य राखेका छन् । यसमा ‘इन्ड-टु-इन्ड’ इन्क्रिप्सनको सुविधा छ । यो यस्तो फिचर हो, जहाँ मेसेज पठाउने र पाउने व्यक्ति बाहेक अरू कसैले पनि मेसेज पढ्न सक्दैनन् ।
एक्सका अनुसार यो प्रणालीका कारण कम्पनी आफैले पनि प्रयोगकर्ताका मेसेज पढ्न सक्दैन । किनभने यसको ‘की’हरू प्रयोगकर्ताको पिन मार्फत ‘हार्डवेयर सेक्युरिटी मोड्युल’बाट मात्र रिकभर गर्न सकिन्छ । मस्कले यो फिचर ईमेलभन्दा धेरै सुरक्षित रहेको र यसमा अन्य मेसेजिङ एप जस्तो अमेजनको एडब्लूएसमा निर्भर हुनु नपर्ने दाबी गरेका छन् ।
मस्कले एक्समा एक पोस्ट गर्दै लेखेका छन्, “हामी एक्सको इन्क्रिप्सन तोड्ने जुनसुकै प्रयासलाई स्वागत गर्छौँ ।”
मस्कको यो रुखो र बिना पुरस्कारको चुनौतीलाई लिएर प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, “यो कि त मस्कको चरम आत्मविश्वास हो, कि त यो धेरै महँगो बग बाउन्टी कार्यक्रम बन्नेवाला छ ।” त्यस्तै अर्का प्रयोगकर्ताले मस्कलाई सुझाव दिँदै भनेका छन्, “यसका लागि एक ‘ह्याकाथन’ आयोजना गरेर दक्ष व्यक्तिलाई काममा राख्नु उचित हुन्छ ।”
अधिकांश प्रयोगकर्ताले भने सुरक्षा जस्तो संवेदनशील विषयमा ह्याकरको समय र मिहिनेतलाई नि:शुल्क प्रयोग गर्न खोजेको भन्दै मस्कको आलोचना गरेका छन् ।
पछिल्लो अध्यावधिक: पुस २६, २०८२ १५:४७
