फाइल तस्बिर | स्रोतः फोनएरेना
काठमाडौँ । चीनमा हाल 'एक्टिभ कुलिङ फ्यान' भएका फोनहरूको लोकप्रियता बढ्दै गएको छ । यही लहरलाई पछ्याउँदै साओमीले पनि फ्यान जडित आफ्नो स्मार्टफोनमा काम गरिरहेको खबर बाहिरिएको छ । चर्चित लिकस्टर 'डिजिटल च्याट स्टेसन' का अनुसार साओमीले निर्माण गरिरहेको यो नयाँ डिभाइसमा अत्याधुनिक सुविधाहरू समावेश हुनेछन् ।
ल्यापटपलाई धेरै तात्न नदिन भित्र सानो फ्यान राखिएको हुन्छ, त्यसरी नै साओमीले यो प्रविधिलाई मोबाइलमा उतार्न खोज्दैछ, ताकि भारी गेमिङ वा काम गर्दा फोन नतातोस् ।
यो उपकरणमा मिडियाटेकको पछिल्लो र शक्तिशाली डाइमेन्सिटी ९५०० एसओसी (Dimensity 9500 SoC) हुने बताइएको छ ।
डिस्प्लेको कुरा गर्नुपर्दा यसमा '१.५के' रिजोलुसन भएको स्क्रिन रहनेछ । जसको रिफ्रेश रेट निकै उच्च हुने बताइएको छ । अघिल्ला चर्चा हरूलाई आधार मान्ने हो भने, यसमा १६५ हर्ज रिफ्रेश रेट भएको ६.८ इन्चको LTPS OLED डिस्प्ले हुन सक्छ ।
यद्यपि यो फोनको मुख्य आकर्षण भनेको यसको इन-बिल्ट फ्यान नै हो । जुन क्यामेराको मुख्य भाग (camera island) मा रहनेछ । रोचक कुरा के छ भने, फ्यान जडान गरिएको भए तापनि यो फोन धुलो र पानीबाट सुरक्षित रहने IP68 रेटिङका साथ आउनेछ ।
यसमा कम्तीमा ८,००० mAh को शक्तिशाली ब्याट्री क्षमता र स्क्रिनभित्रै रहने अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर रहने सम्भावना छ ।
फोनको फ्रेम धातुको हुनेछ र यसका कुनाहरू धेरै घुमाउरा रहनेछन् । यो डिभाइस सम्भवतः रेड्मी K90 अल्ट्रा हुन सक्ने अनुमान गरिएको छ । किनकि रेड्मीका अघिल्ला 'अल्ट्रा' सिरिजका फोनहरूमा पनि मिडियाटेकका उत्कृष्ट चिपसेटहरू प्रयोग गरिएका थिए । यद्यपि, साओमीले यसबारे आधिकारिक घोषणा गर्न बाँकी नै छ ।
पछिल्लो अध्यावधिक: पुस २७, २०८२ ७:५०
