काठमाडौँ । मलेसियाले अर्बपति उद्यमी एलन मस्कको कम्पनी एक्स एआईले निर्माण गरेको एआई टुल ग्रोकमाथि प्रतिबन्ध लगाएको छ । ग्रोक प्रयोग गरेर यौनजन्य अश्लील सामग्री र डीपफेक तस्बिर बनाउन थालिएपछि मलेसियाले आइतबार प्रतिबन्धको घोषणा गरेको हो ।
यसअघि दक्षिणपुर्वी एसियाकै अर्को देश इन्डोनेसियाले ग्रोकलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको थियो । एआई टुल ग्रोकमाथि प्रतिबन्ध लगाउनेमा इन्डोनेसिया पहिलो र मलेसिया दोस्रो देश बनेको छ ।
यी देशका सञ्चार मन्त्रालयका अनुसार ग्रोक प्रयोग गरी महिला र बालबालिकाका आपत्तिजनक र अश्लील तस्बिर बनाइएको पाइएको छ । विशेषगरी वास्तविक व्यक्तिको तस्बिरलाई तोडमोड गरी उनीहरूले नलगाएको कपडा वा अश्लील स्वरूपमा देखाउन यो टुलको दुरुपयोग भइरहेको छ ।
मलेसियाको सञ्चार तथा मल्टिमिडिया आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै एक्सलाई यसअघि नै ग्रोकको दुरुपयोग रोक्न र सुरक्षाका उपाय कडा पार्न निर्देशन दिएको जानकारी दिएको छ । तर, एक्सले प्लेटफर्मको संरचनागत जोखिमलाई सम्बोधन गर्नुको साटो प्रयोगकर्ताको रिपोर्टिङ प्रक्रियामा मात्र ध्यान दिएकाले ग्रोकलाई प्रतिबन्ध लगाउनु परेको आयोगले स्पष्ट पारेको छ ।
त्यस्तै, इन्डोनेसियाकी सञ्चार तथा डिजिटल मामिला मन्त्री मेउत्या हाफिदले ग्रोक प्रयोग गरी यौनजन्य सामग्री उत्पादन गर्नु मानव अधिकार, मर्यादा र अनलाइन सुरक्षाको गम्भीर उल्लङ्घन भएको बताएकी छिन् । इन्डोनेसियाले यसअघि नै ‘अन्ली फ्यान्स’ र ‘पोर्नहब’ जस्ता साइटमा समेत प्रतिबन्ध लगाइसकेको छ ।
ग्रोकको दुरुपयोगबाट पीडित भएकी इन्डोनेसियाकी किराना अयुनिङत्यासले आफ्नो पीडा सुनाउँदै बीबीसीलाई भनिन्, “मैले एक्समा पोस्ट गरेको मेरो सामान्य तस्बिरमा कसैले ग्रोक प्रयोग गरेर मलाई बिकिनीमा देखाउन प्रम्प्ट दिएको भेटेँ ।” ह्वीलचेयर प्रयोगकर्ता किरानाले सो तस्बिर हटाउन ‘एक्स’ मा अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको र साथीलाई रिपोर्ट गर्न भन्दा उल्टै ती तस्बिर झनै धेरै मानिस माझ पुगेको भन्दै दुःख व्यक्त गरिन् ।
ग्रोकको यो विवाद मलेसिया र इन्डोनेसियामा मात्र सीमित छैन । बेलायतमा पनि अनलाइन सुरक्षा नियम पालना नगरेको भन्दै ‘एक्स’ माथि प्रतिबन्ध लगाउन माग उठिरहेको छ । बेलायती प्रधानमन्त्री कियर स्टारमरले ग्रोकको यस्तो दुरुपयोगलाई ‘लज्जास्पद र घृणित’ को संज्ञा दिएका छन् ।
यता एलन मस्कले भने आफ्ना आलोचकले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने बहाना खोजिरहेको भन्दै आफ्नो बचाउ गरेका छन् ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ १३:२९
