स्पष्ट आधार नदिई सामाजिक सञ्जाल प्रतिबन्ध गर्दा जेनजी विद्रोह भयो: कांग्रेस महामन्त्री शर्मा
पुस २८, २०८२ १४:२२
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमनका लागि स्पष्ट आधार (न्यारेटिभ) तयार नगरी प्रतिबन्ध लगाउँदा मुलुकमा जेन-जी विद्रोह भएको टिप्पणी गरेका छन् ।
कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा आफ्नो प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल किन दर्ता गर्नुपर्छ भन्ने कुरा युवा पुस्तालाई बुझाउन नसकेको उल्लेख गरे ।
“सामाजिक सञ्जाल विधेयक सत्ता गठबन्धनमा सहमति बेगर सरकारले दर्ता गरेको थियो । त्यसप्रति विशेषत युवाहरूमा रोष छँदै थियो, सञ्जालहरू नेपालमा दर्ता गर्न यसकारण अनिवार्य जरुरी छ भन्ने न्यारेटिभ विकास नगरी बन्द गर्दा र त्यसले उत्पन्न गर्ने प्रतिक्रियाले गम्भीर दुष्परिणाम ल्याउन सक्छ भन्ने आंकलन गर्न नसक्दा अन्ततः त्यसले देशलाई जेनजी विद्रोहमा पुर्यायो," शर्माको प्रतिवेदनमा उल्लेख छ ।
उनले तत्कालीन मुख्य कारण सामाजिक सञ्जाल बन्द देखिए पनि जेन-जी विद्रोहका पछिल्तिर थुप्रै राजनीतिक, आर्थिक, सामाजिक कारण रहेको प्रतिवेदनमा विश्लेषण गरेका छन् ।
तत्कालीन ओली सरकारले नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको सोही कदमका कारण गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनले उग्र रूप लिएको शर्माको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ १४:५५
