फ्याक्टचेक: बालेनले कुलमान र दलित समुदायबारे आपत्तिजनक टिप्पणी गरेको भन्दै नक्कली पोस्ट भाइरल
पुस २८, २०८२ १५:०
काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को आधिकारिक फेसबुक पेजको स्क्रिनशट जस्तो देखिने पोस्ट भाइरल भइरहेको छ । उक्त स्क्रिनशटमा बालेनले विभिन्न जातजातिलाई होच्याएको दाबी गरिएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानबाट उक्त पोस्ट एडिडेट देखिएको छ । बालेनको हुँदै नभएको पोस्टलाई एडिट गरी मिथ्या सूचना फैलाइएको हो ।
दाबी
सोमबार, १२ जनवरी २०२६ मा ११ः१० बजे ५१ हजार बढी फलोअर भएको ‘Dr-Mitra Pariyar’ नामको फेसबुक पेजबाट एउटा पोस्ट अपलोड भयो । पोस्टको क्याप्सनमा लेखिएको छ, “😡रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएका महासयको जनजाति र दलितप्रति कस्तो दृष्टिकोण रहेछ? “भागमा” मिलेर रिमा, प्रकाश र खगेन्द्रलाई पार्टीमा राखेको हो? के सबै तामाङहरु “भोटे कुक्कुर” हुन्?………तुरुन्तै माफी माग…!”
उक्त पोस्टमा राखिएको स्क्रिनशट जस्तो देखिने सामग्रीमा माथिपट्टि बालेनको आधिकारिक पेसबुक पेजको नाम, फोटो र भेरिफाइड चेकमार्क छ । तलपट्टि लेखिएको छ, “आज ऐउटा भोटे कुक्कुर भागमा नमिलेको कामी जस्तो पद नपाऐको झ्वाँकमा रास्वपाको महाशागर बाट किनारा लागेको छ । रास्वपामा भुसहरु निफनिनुनै पर्छ याँहा भुसको होईन चामलको मात्र स्थान हुन्छ ।”
यो सामग्री तयार पार्दासम्म सो पोस्टमा झन्डै ७०० रियाक्सन, एक हजार बढी कमेन्ट र ६४ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उज्यालो नेपाल पार्टी अल्लगिएपछि काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले कुलमान घिसिङ विरुद्ध बोलेको जस्तो उक्त पोस्टको आशय छ । टेकपाना फ्याक्टचेक डेस्कले उही प्रकृतिका पोस्ट खोज्न थाल्यो । त्यस क्रममा ‘Ganesh BK’ नामका फेसबुक प्रयोगकर्ताले आफ्नो धारणा राख्दै फोटो पोस्ट गरेको पाइयो । उनले क्याप्सनमा लेखेका छन्, “कथित भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित लुसिफरको पहिचान बनाएका व्यक्तिको यो स्टाटस सत्य हो भने तत्काल नेपाली दलित आन्दोलन समक्ष माफि मागोस अन्यथा दलित आन्दोलनले तपाइलाई र तपाइको भावी मार्गलाई दण्डित गर्नेछन्।”
फोटोमा बालेनको फेसबुक पेजको प्रोफाइल, नाम र भेरिफाइड चेकमार्क माथ राखिएको छ भने तलपट्टि माथि नै उल्लेख भएको टेक्स्ट राखिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै जनआस्था अनलाइनले पनि 'भावी प्रधानमन्त्री’को यो कस्तो भाषा ?' शीर्षकमा समाचार राखेको छ । उक्त समाचारमा पनि बालेन शाहको पेजको स्क्रिनशट जस्तो देखिने फोटो राखिएको छ । समाचारमा बालेनले कुलमान घिसिङलाई आपत्तिजनक शब्द प्रयोग गरेर स्टाटस लेखेको दाबी गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै ‘ट्रुथ अफ नेपाल’ नामक पेजले समाचारको शैलीले पोस्ट गरिएको छ । उक्त पोस्टको शीर्षक राखिएको छ, “कुलमान घिसिङमाथि आपत्तिजनक शब्द : बालेन साहको अभिव्यक्तिले चर्कियो विवाद ।” उक्त पोस्टको आशय बालेनले आधिकारिक फेसबुक पेजबाट कुलमान घिसिङबारे आपत्तिजनक शब्दको पोस्ट राखेपछि विवाद भएको दाबी गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।
फेसबुकमा ‘Samtem Moktan’ नामक फेसबुक प्रयोगकर्ताले ‘तामाङ गित सङ्गितको सङ्ग्राहलय’ नामको फेसबुक ग्रुपमा उही पोस्ट राखेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
उक्त स्क्रिनशटमा भएको प्रोफाइल पिक्चर, नाम, भेरिफाइड चेकमार्क र छेउमा भएको तीन ओटा डट पछिबाट थपिएको स्पष्ट देखिन्छ । बालेनको फोटोको पछाडिपट्टि मेटाइएको प्रष्ट देखिन्छ । उक्त फोटोको तलपट्टि देखिएको टेक्स्ट पनि बीच भागमा राखिएको छ ।
जबकि फेसबुकमा सामान्यतः पोस्ट अपलोड गर्दा अलाइनमेन्ट मिलाउन सकिंदैन । फन्ट पनि बोल्ड देखिन्छ । माथिको फोटोभन्दा तलको टेक्स्को क्वालिटी बढी हुनुले टेक्स्ट पछिबाट थपिएको स्पष्ट छ ।
फोटोमा पनि विभिन्न भाग मेटाइएको स्पष्ट देखिन्छ । फोटो एडिटेड भन्ने पुष्टि भएपछि हामीले यही स्टाटस बालेनको आधिकारिक पेजबाट अपलोड भएको थियो वा थिएन भन्ने जाँच्यौं । त्यसक्रममा हाल बालेनले यस्तो पोस्ट गरेको फेला परेन । बालेनले कुलमान घिसिङबारे प्रतिक्रिया दिएको विषयमा समाचार खोज्दा कुनै विश्वसनीय सञ्चार माध्यममा फेला परेन ।
यी विभिन्न पक्षलाई आधार मान्दा बालेनको पेजको स्क्रिनशट जस्तो देखिने उक्त फोटो भ्रामक रहेको पुष्टि हुन्छ । टेकपाना फ्याक्टचेक डेस्कले यसअघि पनि बालेनको नाम राखेर फैलाइएका नक्कली स्क्रिनशटबारे तथ्यजाँच गरिसकेको छ । (हेर्नुहोस् तथ्यजाँच १, तथ्यजाँच २, तथ्यजाँच ३, तथ्यजाँच ४, तथ्यजाँच ५)
दाबी
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो आधिकारिक फेसबुक पेजबाट कुलमान घिसिङ र दलित तथा जनजाति समुदाय (तामाङ) लाई लक्षित गर्दै ‘भोटे कुक्कुर’, ‘कामी जस्तो’ जस्ता आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरेर स्टाटस लेखे ।
दाबीकर्ता
जनआस्था मिडिया, डा. मित्र परियार, गणेश विक, 'ट्रुथ अफ नेपाल', साम्तेम मोक्तान लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
भाइरल भनिएको स्क्रिनशटमा बालेनको प्रोफाइल पिक्चर, नाम र भेरिफाइड चेकमार्क पछिबाट थपिएको स्पष्ट देखिन्छ । त्यस्तै फेसबुकमा स्टाटस लेख्दा फन्ट बोल्ड गर्ने वा बीचमा राख्ने सुविधा हुँदैन । तर उक्त स्क्रिनशटमा टेक्स्ट बीचमा र बोल्ड छ । त्यसैगरी बालेन शाहको आधिकारिक पेजमा यस्तो कुनै पोस्ट भेटिएको छैन । साथै, कुनै पनि विश्वसनीय सञ्चार माध्यमले यस्तो गम्भीर विवादित विषयमा समाचार सम्प्रेषण गरेका छैनन् ।
निष्कर्ष
बालेन शाहको नाममा भाइरल भइरहेको उक्त फेसबुक पोस्ट पूर्णतः नक्कली हो ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ २२:२६
