close

मिराज ढुङ्गानाको नाम राखेर अनेकथरी भ्रम फैलाएको फेसबुक पेजले सुटुक्क फेर्‍यो नाम

टेकपाना टेकपाना

पुस २८, २०८२ १६:३५

मिराज ढुङ्गानाको नाम राखेर अनेकथरी भ्रम फैलाएको फेसबुक पेजले सुटुक्क फेर्‍यो नाम

काठमाडौँ । आफूलाई जेन-जी अभियन्ताका रूपमा चिनाउने मिराज ढुङ्गानाको नाम र तस्बिर प्रयोग गरी भ्रम फैलाउँदै आएको एउटा नक्कली फेसबुक पेजले झन्डै चार महिनापछि सुटुक्क आफ्नो नाम परिवर्तन गरेको छ । गत २३-२४ भदौमा भएको जेन-जी आन्दोलनपछि चर्चामा आएका ढुङ्गानाको पहिचान प्रयोग गर्दै उक्त पेजले लामो समयदेखि भ्रामक सामग्रीहरू पोस्ट गर्दै आएको थियो ।

सन् २०२४ मा सुरुमा ‘सचिन परियार अफिसियल’ नाममा खोलिएको उक्त पेजले मिराज ढुङ्गानाको चर्चा चुलिएसँगै आफ्नो नाम परिवर्तन गरी ‘Miraj dhungana’ राखेको पाइएको छ ।

आन्दोलनका क्रममा मिराज सामाजिक सञ्जालमा खासै सक्रिय थिएनन् । त्यस्तो अवस्थामा उनलाई खोज्ने प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दो थियो, जसको फाइदा उठाउँदै यो नक्कली पेजले उनको नाममा गतिविधि सञ्चालन गरेको देखिन्छ । मिराजको आधिकारिक फेसबुक अकाउन्टमा करिब पाँच हजार मात्र फलोअर हुँदा उनको नामबाट सञ्चालित सो नक्कली पेजले ७० हजारभन्दा बढी फलोअर बटुलिसकेको थियो । हेर्नुहोस् त्यसबेलाको समाचार सामग्री

उक्त पेजले मिराजले भन्दै नभनेका कुराहरूलाई आधिकारिक भनाइ जस्तो गरी पोस्ट गर्ने र एआईबाट बनाइएका तस्बिरहरू प्रयोग गरी उनी विभिन्न राजनीतिक दलमा प्रवेश गरेको जस्ता अफवाह फैलाउने काम गर्दै आएको थियो । आफ्नो नाम जोडेर नकारात्मक र भ्रामक सूचना सम्प्रेषण हुन थालेपछि ढुङ्गानाले सार्वजनिक रूपमै उक्त पेजको विरोध गरेका थिए ।

उनले भनेका थिए, “फेसबुकमा मेरो नाम र फोटो प्रयोग गरेर ७० हजारभन्दा बढी फलोअर बनाइएको छ । तर त्यो मेरो आधिकारिक पेज होइन । उक्त पेजले आफ्नै ढङ्गले गलत कुराहरू पोस्ट गर्ने र अरूको पोस्टमा गएर अनावश्यक कमेन्ट गर्ने गरेको छ ।”

मिराजको आग्रह र दबाबपछि उक्त पेजले आफ्नो बायोमा ‘फ्यान पेज’ शब्द त थप्यो, तर सामग्रीहरू भने उनी स्वयम्‌ले बोलेको जस्तो भ्रमपूर्ण शैलीमै प्रस्तुत गरिरह्यो ।

फलोअरको सङ्ख्या १ लाख ३७ हजार पुर्‍याएपछि उक्त पेजले गत बुधबार पुनः सुटुक्क आफ्नो नाम र यूआरएल परिवर्तन गरी ‘T crazy09’ राखेको छ ।

नाम परिवर्तन गरेसँगै पेज सञ्चालकले मिराजको पहिलेको कभर र प्रोफाइल फोटो हटाएका छन् । त्यसका साथै, उक्त पेजबाट विगतमा पोस्ट गरिएका आपत्तिजनक र विवादित सामग्रीहरू समेत मेटाइएका छन् ।

सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूको नाम र पहिचान प्रयोग गरी सुरुमा फलोअर बढाउने र पछि नाम परिवर्तन गरेर त्यसलाई व्यावसायिक वा अन्य स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति पछिल्लो समय निकै बढेको छ । मिस पबी, महावीर पुन, भोजराज थापा लगायतका व्यक्तिहरूको नाममा पनि नक्कली पेज र ग्रुप बनाएर भ्रम फैलाउने गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०८२ १६:३५