close

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने तयारी

टेकपाना टेकपाना

पुस ३०, २०८२ ११:४३

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने तयारी

काठमाडौँ । नेपाली काङ्ग्रेसले नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मसिनको प्रयोग गर्ने तयारी थालेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने पदमा मतदानका लागि विद्युतीय भोटिङ मसिनको प्रयोग गर्ने योजना बनेको हो । 

हाल पार्टीमा नयाँ नेतृत्व कसरी छनोट हुने भन्ने विषयमा छलफल भइरहेको नेपाली काँग्रेस विशेष महाधिवेशनका मिडिया सेन्टर संयोजक जीवन भण्डारीले बताए । उनले भने, “नयाँ नेतृत्वका लागि सर्व सहमति समेत जुट्न सक्ने सम्भावना देखिएको छ । त्यो भयो भने भोटिङ नै गर्नु पर्दैन । यदि सर्व सहमति जुटेन भने विद्युतीय भोटिङ मसिनको प्रयोग गरेर मतदान गर्ने तयारी गरिरहेका छौँ ।”

नेपाली विद्युतीय भोटिङ मसिन उत्पादन गरिरहेको ‘राम-लक्ष्मण इनोभेसन’ का सह-संस्थापक राम रिमालले नेपाली काँग्रेससँग विद्युतीय भोटिङ मसिनको प्रयोगका बारेमा अनौपचारिक छलफल भएको बताए । “अहिलेसम्म उहाँहरूले औपचारिक रूपमा मसिन प्रयोग गर्ने बारेमा जानकारी गराइ सक्नु भएको छैन । अनौपचारिक रूपमा चाहिँ मसिनको प्रयोग गर्ने कुरा भएको छ । हामी स्ट्यान्ड-बाइ नै छौँ । चाहिने बित्तिकै उपलब्ध गराउन सक्छौँ ।”

यसअघि नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पनि विद्युतीय भोटिङ मसिनको प्रयोग गरिएको थियो । भोटिङ मसिनबाट मतदान गर्न लामो समय लागेको भन्दै आलोचना समेत भएको थियो । 

मतदान गर्न ढिलो भोटिङ मसिनका कारण नभइ एउटै मतदाताले धेरै उम्मेदवारलाई मतदान गर्नुपरेको कारणले भएको रिमालले बताए । उनले भने, “हामीलाई सुरुमा एक सय भन्दा धेरैलाई भोट हाल्नुपर्छ भनिएको थियो । तर पछि मतदान गर्ने बेला एउटै मतदाताले तीन सय भन्दा धेरै उम्मेदवारलाई भोट हाल्नु पर्‍यो । त्यसैले गर्दा पहिला भनिएको समय भन्दा ढिलो मतदान भयो ।” 

यदि काँग्रेसको विशेष महाधिवेशन भयो भने पनि १२/१३ घण्टा समय मतदानका लागि लाग्न सक्ने उनले बताए ।

 

पछिल्लो अध्यावधिक: पुस ३०, २०८२ १३:४९