एनसीएचएलको प्रणाली सुरक्षित बनाउन ४८ घण्टे बग बाउन्टी र पेन टेस्टिङ प्रतियोगिता हुँदै
पुस ३०, २०८२ १४:१०
काठमाडौँ । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा ‘एनसीएचएल पेन टेस्टिङ च्यालेन्ज’ नामक प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल इन्जिनियरिङ कलेज र कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाज (कोइस) को संयुक्त आयोजनामा आगामी ३ देखि ५ माघसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
कार्यक्रमअन्तर्गत ४८ घण्टा लामो ‘बग बाउन्टी’ र सिस्टम ‘पेनिट्रेसन टेस्टिङ’ प्रतियोगिता हुने कोइसका अध्यक्ष कोमल अधिकारीले जानकारी दिए । “प्रतिस्पर्धीहरूले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को प्रणालीमा रहेका सुरक्षा कमजोरीहरू पत्ता लगाउनुपर्नेछ । यसमा सहभागी हुन कम्तीमा एक वर्ष बग बाउन्टीमा काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ,” उनले भने ।
सहभागीहरूले एनसीएचएलका आधिकारिक प्रणालीहरूमा रहेका एसक्यूएल इन्जेक्सन, एक्सएसएस, असुरक्षित अथेन्टिकेसन, एक्सेस कन्ट्रोल जस्ता प्राविधिक त्रुटिहरू पहिचान गर्नुपर्नेछ । यस प्रतिस्पर्धाले डिजिटल वित्तीय पूर्वाधारलाई थप सुरक्षित बनाउन मद्दत पुग्नुका साथै सहभागीहरूको दक्षता अभिवृद्धि गर्ने विश्वास अध्यक्ष अधिकारीले व्यक्त गरे ।
प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिहरूले १ माघसम्म आवेदन दिन सक्नेछन् । ५०० रुपैयाँ शुल्क तिरेर अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेलाई २० हजार रुपैयाँ पुरस्कार र सबै सहभागीहरूलाई नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमाणपत्र प्रदान गरिनेछ । यसका साथै, नेपाल इन्जिनियरिङ कलेजमा नै जनवरी १६ देखि १९ सम्म साइबर सुरक्षा गोष्ठी र ‘टेकस्प्रिन्ट ह्याकाथन २०२६’ समेत आयोजना हुने जानकारी दिइएको छ ।
प्रतिस्पर्धामा सहभागीता जनाउन चाहने व्यक्तिहरूले यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: पुस ३०, २०८२ १४:१४
