एआई सिर्जित तस्बिर
काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । भक्तपुरका २४ वर्षीय अजित बहादुर थापा र धनुषाका २६ वर्षीय सरोज माझी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ठगी मुद्दा दर्ता गरेको हो ।
पीडित नरेन्द्रकुमार इदिङ्गो वैदेशिक रोजगारीमा जाने सोचमा रहेका बेला फेसबुकमार्फत अजितबहादुर थापाको सम्पर्कमा पुगेका थिए । थापाले फेसबुकमा विज्ञापन राख्दै आफू न्युजिल्यान्डमै बसोबास गर्ने र नेपाली कामदारहरूलाई त्यहाँ लैजाने गरेको दाबी गरेका थिए । उनले न्युजिल्यान्डमा मासिक ३,००० देखि ३,५०० अमेरिकी डलरसम्म तलब हुने लोभ देखाएका थिए ।
अजितले पीडितलाई विश्वासमा पार्न न्युजिल्यान्डको नक्कली अफर लेटर पठाएका थिए र सिङ्गापुरबाट भिसा लगाइदिने आश्वासन दिएका थिए । उनको विश्वासमा परी पीडितले अजितले भने बमोजिमका व्यक्तिहरूको खातामा २२ असोज २०८१ मा १ लाख र २४ असोज २०८१ मा ४ लाख गरी कुल ५ लाख रुपैयाँ जम्मा गरेका थिए ।
अभियोग-पत्र अनुसार पीडितले माछापुच्छ्रे बैङ्कमा रहेको सरोज माझीको खातामा १ लाख रुपैयाँ र ग्लोबल आईएमई बैङ्कमा रहेको सुजन तामाङको खातामा ४ लाख रुपैयाँ पठाएका थिए ।
रकम बुझेपछि अजितले पीडितलाई काठमाडौँको कोहिनुर हेल्थ केयर सेन्टरमा ५,००० रुपैयाँ तिरेर स्वास्थ्य परीक्षण गर्न समेत लगाएका थिए । त्यस्तै अजितले पीडितलाई १० जनवरी २०२५ का लागि काठमाडौँ–क्वालालम्पुर–सिङ्गापुर र १६ जनवरी २०२५ का लागि सिङ्गापुर–बैङ्कक–काठमाडौँको नक्कली हवाई टिकट र होटेल बुकिङको विवरण मेसेन्जरमा पठाएका थिए ।
तर, टिकट पठाएको भोलिपल्टै अजितले सबै सामाजिक सञ्जालमा ब्लक गरेर सम्पर्क विहीन भएपछि नरेन्द्रले आफू ठगिएको थाहा पाए । त्यसपछि उनले प्रहरीमा जाहेरी दिएका थिए ।
सरकारी वकिलको कार्यालयले अजितबहादुर थापा र सरोज माझी विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीको कसुरमा मुद्दा चलाएको छ । उक्त ऐन अनुसार कसुरदारलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । साथै पीडितको ठगी भएको १ लाख रुपैयाँ (बाँकी रकम फिर्ता भइसकेकाले) दामासाहीले भराउन र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत माग गरिएको छ ।
यस प्रकरणमा मुछिएका सुजन तामाङको हकमा भने उनकी श्रीमती अस्मिता तामाङले २५ फेब्रुअरी २०२५ मा पीडितको सिद्धार्थ बैङ्कको खातामा ४ लाख रुपैयाँ फिर्ता गरिदिएकी छन् । पीडितले पनि सुजन विरुद्ध मुद्दा नचलाउन निवेदन दिएकाले सरकारी वकिलले हाललाई उनी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।
सुजन तामाङले आफ्नो बयानमा विगत एक वर्षदेखि फेसबुकमार्फत चिनजान भएका साथी रबिजङ्ग थापाले आफूलाई प्रलोभनमा पारेको बताएका छन् । रबिजङ्गले आफ्नो बैङ्क खाता बन्द भएको बहाना बनाउँदै शेयर कारोबारको ४ लाख रुपैयाँ सुजनको खातामा हालिदिने र त्यस बापत ८ प्रतिशत कमिसन दिने आश्वासन दिएका थिए ।
बयानमा उल्लेख भए अनुसार रबिजङ्गको विश्वासमा परेर सुजनले आफ्नो ग्लोबल आईएमई बैङ्कको खाता नम्बर उपलब्ध गराएका थिए । पीडित नरेन्द्रले आफ्नो खातामा ४ लाख रुपैयाँ जम्मा भएपछि रबिजङ्गले भने अनुसार विभिन्न व्यक्तिका खातामा उक्त रकम पठाइदिएका थिए । सुजनले ८ प्रतिशत कमिसन आफैँसँग राखेर बाँकी रकम पठाएको उल्लेख गरेका छन् ।
तर मुख्य अभियुक्त अजितबहादुर थापालाई भने आफूले नचिनेको र कहिल्यै नदेखेको दाबी सुजनले गरेका छन् । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी भइरहेको कुरा आफूलाई प्रहरी अनुसन्धानको क्रममा मात्र थाहा भएको उनले बताएका छन् ।
उनले कसैलाई ठगी गर्ने नियत नभएको, तर आर्थिक लोभमा परेर साथीको विश्वास गर्दा यस्तो हुन पुगेको स्वीकार गरेका छन् । जानाजानी ठगी नगरेको भए तापनि कानुन बमोजिम सजाय भोग्न मञ्जुर रहेको उनले बयानका क्रममा बताएका छन् ।
उनले रकम फिर्ता गर्न तयार रहेको बताए बमोजिम उनकी श्रीमतीले अस्मिता तामाङले २५ फेब्रुअरी २०२५ मा पीडितलाई ४ लाख रुपैयाँ फिर्ता गरी दिएकी थिइन् ।
मुख्य अभियुक्त अजित र खातावाला सरोज हाल फरार रहेका छन् । अदालतले उनीहरूका नाममा पक्राउ पुर्जी जारी गरी कारबाही अगाडि बढाउन आदेश दिएको छ । अनुसन्धानका क्रममा यो एउटा सङ्गठित रूपमा गरिएको ठगी भएको र अजितले नै सम्पूर्ण योजना बनाएको देखिएको छ ।
पछिल्लो अध्यावधिक: माघ १, २०८२ ८:५४
