close

चिनियाँ स्मार्टफोन निर्माता वनप्लसका सीईओ विरुद्ध ताइवानको पक्राउ पुर्जी

टेकपाना टेकपाना

माघ १, २०८२ १५:२२

चिनियाँ स्मार्टफोन निर्माता वनप्लसका सीईओ विरुद्ध ताइवानको पक्राउ पुर्जी

काठमाडौँ । ताइवानले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पिट लाउविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि ताइवानको कानुनी प्रक्रिया मिचेर अवैध रूपमा व्यवसाय सञ्चालन गरेको र कर्मचारी भर्ना जस्ता गतिविधिमा संलग्न भएको गम्भीर आरोप लगाइएको छ ।

ताइवानको शिलिन जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार दुई ताइवानी नागरिकमाथि सीईओ लाउलाई अवैध व्यवसाय विस्तारमा सघाएको अभियोगमा मुद्दा चलाइएको हो । ती नागरिकहरूले लाउको निर्देशनमा ताइवानमा ७० जनाभन्दा बढी कर्मचारीहरू गैरकानुनी रूपमा भर्ना गर्न मद्दत गरेको अनुसन्धानबाट खुलेको छ । यो कानुनी कारबाही ताइवानको ‘चीनसँगको सम्बन्ध सञ्चालन गर्ने विशेष कानुन’ अन्तर्गत अगाडि बढाइएको हो ।

भर्ना गरिएका ७० जनाभन्दा बढी कर्मचारीहरूलाई स्मार्टफोनको सफ्टवेयर एप्लिकेसन अनुसन्धान तथा विकास (आर एन्ड डी), प्रमाणीकरण तथा परीक्षणका कार्यमा लगाइएको अनुसन्धानबाट खुलेको छ । चीनको शेन्जेनमा मुख्यालय रहेको वनप्लस सन् २०२१ देखि अर्को ठुलो चिनियाँ ब्राण्ड ओप्पोको सहायक कम्पनीको रूपमा सञ्चालित छ ।

रोयटर्सका अनुसार यस विषयमा ओप्पो, वनप्लस वा स्वयम् लाउले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

ताइवानमा दक्ष प्राविधिक जनशक्ति रहेकोले चिनियाँ कम्पनीहरूले त्यहाँका प्रतिभावान् व्यक्तिहरूलाई तान्न निरन्तर प्रयास गर्ने गरेका छन् । ताइवानी अधिकारीहरूका अनुसार चिनियाँ कम्पनीहरूले आफ्नो वास्तविक पहिचान लुकाउन हङकङमा दर्ता भएका ‘शेल कम्पनी’ (Shell Companies) वा अन्य विदेशी संस्थाहरूलाई आवरणका रूपमा प्रयोग गरी ताइवानमा छिर्ने गरेका छन् ।

यसअघि अगस्ट २०२५ मा पनि ताइवानी अधिकारीहरूले सेमिकन्डक्टर र अन्य उच्च प्रविधि क्षेत्रका दक्ष जनशक्ति चोरी गरेको आशङ्कामा १६ ओटा चिनियाँ कम्पनीहरूमाथि छापा मारी अनुसन्धान सुरु गरेका थिए ।

पिट लाउविरुद्धको यो कानुनी दस्तावेज नोभेम्बर २०२५ मै तयार पारिएको भए पनि हालै मात्र ताइवानका स्थानीय सञ्चारमाध्यमहरूले यसलाई सार्वजनिक गरेका हुन् । बेइजिङ र ताइपेईबिचको बढ्दो राजनीतिक तनाव र ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्ने चीनको नीतिका कारण यस्ता घटनाले दुई देशबिचको सम्बन्धमा थप जटिलता थप्ने देखिएको विश्लेषण गरिएको छ ।

समाचारमा वनप्लसका सीईओ पिट लाउको सट्टा फरक व्यक्तिको फोटो प्रयोग भएकाले सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: माघ १, २०८२ १६:१६