काठमाडौँ । अमेरिकामा सेमिकन्डक्टर उत्पादन विस्तार गर्ने उद्देश्यसहित ताइवानले २५० अर्ब अमेरिकी डलर (३६२ खर्ब रुपैयाँ बढी) लगानी गर्ने भएको छ । ट्रम्प प्रशासन र ताइवानबिच हालै भएको व्यापार सम्झौताअन्तर्गत ताइवानी सेमिकन्डक्टर तथा प्रविधि कम्पनीहरूले अमेरिकाको सेमिकन्डक्टर उद्योगमा प्रत्यक्ष लगानी गर्न सहमति जनाएका हुन् ।
यो लगानी सेमिकन्डक्टर, ऊर्जा र एआईको उत्पादन तथा नवप्रवर्तनका क्षेत्रमा खर्च गरिने अमेरिकी वाणिज्य विभागले जनाएको छ । हाल ताइवानले विश्वको कुल आवश्यकताको आधाभन्दा बढी सेमिकन्डक्टर उत्पादन गर्दै आएको छ ।
सम्झौताअनुसार ताइवानले थप लगानीका लागि २५० अर्ब डलर बराबरकै क्रेडिट ग्यारेन्टी समेत उपलब्ध गराउनेछ । यो लगानी कुन समयावधिभित्र भित्रिने भन्नेबारे ठोस समयसीमा भने खुलाइएको छैन । यसको बदलामा अमेरिकाले पनि ताइवानको सेमिकन्डक्टर, रक्षा, एआई, दूरसञ्चार र बायोटेक उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यद्यपि, अमेरिकाले गर्ने लगानीको रकम खुलाइएको छैन ।
ट्रम्प प्रशासनले अमेरिकामा सेमिकन्डक्टर उत्पादन फिर्ता ल्याउने लक्ष्यसहित एक घोषणापत्र जारी गरेको भोलिपल्टै यो सम्झौता भएको हो । हाल अमेरिकामा केवल १० प्रतिशत सेमिकन्डक्टर मात्र उत्पादन हुने गरेको छ ।
अमेरिकी सरकारले विदेशी आपूर्ति प्रणालीमाथिको उच्च निर्भरतालाई आर्थिक र राष्ट्रिय सुरक्षाका लागि जोखिम भएको बताएको छ । “आधुनिक अर्थतन्त्र र राष्ट्रिय रक्षामा सेमिकन्डक्टरको आधारभूत भूमिका हुन्छ । आयातमा आधारित आपूर्ति शृङ्खलामा अवरोध आएमा यसले अमेरिकाको औद्योगिक र सैन्य क्षमतामा गम्भीर असर पुर्याउन सक्छ,” जारी घोषणापत्रमा उल्लेख छ ।
यसैबिच, ट्रम्प प्रशासनले केही आधुनिक एआई चिपमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेको छ । ताइवानसँग जस्तै अन्य देशहरूसँग पनि व्यापार वार्ता सम्पन्न भएपछि सेमिकन्डक्टरमा थप भन्सार शुल्क लगाइने अमेरिकी नीति रहेको छ ।
पछिल्लो अध्यावधिक: माघ २, २०८२ ११:४
