एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटर्स मेला’ हुँदै, ५० हजार जित्ने अवसर
माघ २, २०८२ १७:४७
काठमाडौँ । उदीयमान कन्टेन्ट क्रिएटरहरूलाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यले एनसेल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा देशका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना हुने भएको छ । निःशुल्क सहभागी हुन सकिने मेलाले नेपाली युवालाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क र सहकार्यका नयाँ अवसरहरू प्रदान गर्ने बताइएको छ ।
यो वर्षको मेला भोलि (३ माघ) चितवनबाट सुरु हुँदैछ । त्यसपछि १० माघमा नेपालगन्जमा र १६-१७ माघमा काठमाडौँमा आयोजना गरिने एनसेलले जनाएको छ । सन् २०२३ देखि नै यस मेलाको साझेदार रहेको एनसेलले कन्टेन्ट क्रिएसनमार्फत युवाहरूलाई सशक्त बनाउँदै ‘डिजिटल नेपाल’ को लक्ष्यमा टेवा पुर्याउने नीति लिएको छ ।
‘भिजन टु भेन्चर’ (Vision to Venture) भन्ने नाराका साथ आयोजना हुन लागेको यसपटकको मेला सहभागीहरूका योजनालाई वास्तविक व्यावसायिक अवसरमा बदल्न केन्द्रित हुनेछ ।
कार्यक्रमबारे जानकारी दिँदै एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “अमेरिकी दूतावाससँगको यो निरन्तर सहकार्यले उदीयमान र स्थापित क्रिएटरहरूलाई डिजिटल युगमा प्रभावशाली सामग्री सिर्जना गर्न र आफ्नो सीप तिखार्न मद्दत पुग्नेछ । कार्यक्रमसँगै सञ्चालित भिडिओ प्रतिस्पर्धाले सहभागीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गरी पुरस्कृत हुने अवसर समेत दिनेछ ।”
त्यस्तै, नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले यो मेलाले सिर्जनात्मक क्रियाकलापमार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न सहयोग पुर्याउने बताए ।
५० हजारको भिडिओ प्रतिस्पर्धा
मेलाकै अवसरमा एनसेलले एक मिनेटको विशेष भिडिओ प्रतिस्पर्धा पनि आयोजना गरेको छ । सहभागीहरूले ‘एनसेल फोरजीले तपाईँको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर इन्स्टाग्राम वा टिकटकमा भिडिओ अपलोड गर्नुपर्नेछ ।
भिडिओमा एनसेललाई ट्याग गर्दै ह्यासट्याग #CreateGaraPostGara र सम्बन्धित सहरको ह्यासट्याग प्रयोग गर्नुपर्ने प्रावधान राखिएको छ । प्रत्येक सहरबाट एक जना उत्कृष्ट क्रिएटर छनोट गरी ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ । विजेताले आगामी दिनमा एनसेल फाउन्डेसनका विभिन्न गतिविधिहरूमा समेत सहभागी हुने मौका पाउनेछन् ।
सन् २०२३ देखि हालसम्म पाँच हजारभन्दा बढी क्रिएटरहरू संलग्न भइसकेको यो कार्यक्रममा विभिन्न प्राविधिक तथा व्यावसायिक सत्रहरू हुनेछन् । मेलामा ‘स्पट लाइट’ सत्र, प्यानल छलफल र स्थापित क्रिएटरहरूको अनुभव साटासाट गरिनेछ । जसमा कन्टेन्ट क्रिएसन, अडियन्स संख्या वृद्धि, ब्रान्डिङ र दिगो व्यावसायिक विकासका विविध पाटाहरूमा विशेषज्ञहरूले प्रशिक्षण दिनेछन् ।
पछिल्लो अध्यावधिक: माघ २, २०८२ १७:५७
