close

एमालेको पक्षमा दिनमा १० एसएमएस र १० स्टाटस लेख्न कार्यकर्तालाई अध्यक्ष केपी ओलीको निर्देशन

टेकपाना टेकपाना

माघ २, २०८२ १७:५२

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई दिनमा १० वटा एसएमएस पठाउन र १० वटा स्टाटस फेसबुकमा लेख्न निर्देशन दिएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जालको व्यापक बाढी चलाएर र दुरुपयोग गरेर आफूहरू विरुद्ध दुष्प्रचार भइरहेको भन्दै उनले त्यसलाई सुप्रचारले पराजित गर्नुपर्ने उनको भनाई थियो । पार्टीका आन्तरिक विषय सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रति उनले असन्तुष्टि समेत जनाए ।

"हाम्रा मोबाइल, हाम्रा फेसबुक, हाम्रा कमेन्ट, मन परेन भने यसो साथीलाई छ्यास्स घोचेर यसोयसो गरेर ठ्यास्स पार्ने । घोच्न यहाँ घोच्या हुन्छ, थाहा यहाँले दुनियाँले सबैले पाउँछन् । अनि यत्ति यहाँ घोच्नु छ भने त त्यत्ति घोचे हुन्छ नि । दुनियाँलाई किन थाहा दिनु पर्‍यो ?," उनले भने ।

आफूहरूले यो शैली अन्त्य गर्नुपर्ने र कोसँग लड्ने भन्ने थाहा पाउन जरुरी रहेको ओलीले बताए । "खण्डन केको गर्ने त्यो थाहा पाउनु पर्छ । प्रशंसा केको गर्ने त्यो थाहा पाउनु पर्छ । राम्रोको प्रशंसा गरौँ । राम्रो कमेन्ट गरौँ । राम्रो कमेन्टलाई समर्थन गरौँ, लाइक गरौँ र नराम्रोलाई कमेन्ट गर्न पनि नबिर्सौँ । त्यसको आलोचना गर्न पनि नबिर्सौँ," उनले भने ।

सामाजिक सञ्जालमा कमेन्ट गर्न र स्टाटस लेख्न अन्य सामाजिक सञ्जाल सञ्चालनकर्ता खोजिरहन जरुरी नभएको ओलीको बुझाई थियो । "हरेकका हातमा मोबाइल छ । हामी आफैँ सामाजिक सञ्जाल सञ्चालनका योद्धाहरू हौँ । हामी हरेकले यो लडाई लड्नुपर्छ । कम्तीमा दिनमा १० वटा एसएमएस गर्नुस् । दिनमा दश वटा फेसबुक स्टाटस लेख्नुस् । एमालेको पक्षमा लेख्नुस्, दिनको दश वटा । हामीले गरेका काम लेख्नुस्, दिनमा दश वटा ।"

 

पछिल्लो अध्यावधिक: माघ २, २०८२ १७:५२