नेपाली ग्राफिक डिजाइनरका लागि उपयोगी प्लेटफर्म anepali.com, के के छन् सेवा ?
माघ ३, २०८२ २०:३६
काठमाडौँ । यूआईयूएक्स डिजाइनर किशोर खड्कालाई ग्राफिक डिजाइनको काम गर्दा एउटा समस्याले सधैँ सताइरहन्थ्यो । विशेषगरी नेपाली डिजाइनमा काम गर्दा उपयुक्त फन्ट उपलब्ध नहुने र फन्ट कन्भर्टरहरू झन्झटिलो हुने समस्याले हैरान थिए उनी ।
“नेपाली डिजाइनका लागि फन्टको विकल्प ४००-५०० हुने, तर प्रयोग गर्दा उपयुक्त फन्ट पाउनै गाह्रो,” आफ्नो अनुभव सुनाउँदै किशोरले भने, “त्यतिका विकल्पबाट काम लाग्ने ३/४ ओटा फन्ट खोज्दा धेरै समय खेर जान्थ्यो ।”
यही समस्याको स्थायी समाधान खोज्न उनले ‘anepali.com’ नामक प्लेटफर्म सञ्चालनमा ल्याएका हुन् । यस कार्यमा उनलाई सुरुवाती चरणमा साथीहरू निश्चल खरेल र सिर्जल काफ्लेले सहयोग गरे ।
फन्ट मात्र नभई डिजाइनका लागि उपयोगी हुने फन्ट कन्भर्टरको अभावले आफूलाई यो प्लेटफर्म बनाउन प्रेरित गरेको उनी सुनाउँछन् । पेशाले प्रडक्ट डिजाइनर समेत रहेका किशोरले विगत तीन महिनादेखि आफ्नो नियमित कामलाई थाँती राखेर पूर्ण रूपमा यसै प्रोजेक्टमा समय दिइरहेको बताए ।
“सुरुमा मैले ५०० ओटा फन्टबाट फिल्टर गरेर करिब ८० ओटा मात्र राम्रा फन्ट छानेँ,” उनले भने, “धेरैजसो फन्टहरू बिग्रिएका, टाइप गर्न झन्झट हुने र कति त पाइरेटेड पनि थिए । कतिपय फन्टको कपीराइट इन्फर्मेसनमै ‘हु केयर्स’ भनेर लेखिएको समेत पाइयो ।”
किशोरले अन्य डिजाइनरको श्रमको सम्मान गर्नुपर्ने भन्दै त्यस्ता पाइरेटेड र अव्यवस्थित फन्टलाई हटाएर अहिले १३० भन्दा बढी फन्टहरू प्लेटफर्ममा व्यवस्थित गरेका छन् ।
उनले अग्निराज पौडेल जस्ता पुराना फन्ट डिजाइनरको योगदानलाई सम्मान गर्दै उनीहरूको नाम र जानकारी समेत खोजेर प्लेटफर्ममा राखेका छन् । “मैले सकेसम्म डिजाइनरहरूको नाम, उनीहरूको गिटहब वा लिङ्क्डइन प्रोफाइलको लिङ्कहरू पनि राख्न खोजिरहेको छु,” उनले भने ।
‘anepali.com’ मा फन्टबाहेक नेपाली भ्वाइस टाइपिङको सुविधा पनि छ । मोबाइलमा पहिले नै यस्ता फिचर भए पनि यस प्लेटफर्मको ‘युज केस’ अलि फरक र सजिलो रहेको उनको दाबी छ । हाल यस प्लेटफर्मबाट कुनै पनि आम्दानीको स्रोत राखिएको छैन । “अहिलेलाई म मान्छेहरूलाई काम गर्न सजिलो बनाइदिउँ र कम्युनिटीलाई केही ‘गिभब्याक’ गरौँ भन्ने हिसाबले लागिरहेको छु,” उनले आफ्नो उद्देश्य सुनाए ।
के छन् सुविधा अनि कसरी गर्ने प्रयोग ?
यसमा भएको उपयोगी फिचर फन्ट डाउनलोड नै हो । सोझै anepali.com को होमपेजमा जाँदा विभिन्न शैलीका फन्टहरू उपलब्ध हुन्छन्, जहाँ फन्टको नाम, फाइल साइज र प्रकार (युनिकोड वा ट्रेडिसनल) सँगसँगै त्यसको प्रिभ्युसमेत स्पष्ट रूपमा हेर्न सकिन्छ ।
होमपेजको माथिपट्टि रहेको बक्समा आफूले चाहेको टेक्स्ट कुन फन्टमा कस्तो देखिन्छ भन्ने हेर्न टाइप गर्नुपर्ने हुन्छ । त्यसमा रोमनमै टाइप गर्न पनि सकिन्छ ।
त्यस्तै फन्टको अप्सनमा डाउनलोड र इमेजको आइकन छ । डाउनलोड गरिएको फन्ट एक्स्ट्रयाक्ट गरेर इन्स्टल गर्न सकिन्छ । तर, फन्ट डाउनलोड गर्नु छैन, त्यसलाई इल्युस्ट्रेटर, फिग्मा लगायतका डिजाइनिङ प्लेटफर्ममा प्रयोग गर्नु छ भने एसभीजी फर्म्याट कपी गर्न सकिन्छ ।
क्यान्भा, क्यापकट जस्ता प्लेटफर्ममा निःशुल्क पृथक नेपाली फन्ट प्रयोग गर्न पाइँदैन । यस्तोमा स-साना टेक्स्टको डिजाइन प्रयोग गर्नुपर्ने हुन्छ । यस प्लेटफर्मले ती समस्या समाधानको विकल्प पनि निकालेको छ । इमेजमा गएर ‘क्रियट स्टिकर’ को अप्सन छान्नुभयो भने स्टिकरको प्रिभ्यु देखिन्छ । त्यसमा तपाईंले कलर छान्न र बोर्डर आउटलाइन छान्न सक्नुहुन्छ । र, उक्त स्टिकरलाई डाउनलोड गर्न सक्नुहुन्छ । यस्तो स्टिकर नेपाली फन्ट सपोर्ट नगर्ने प्लेटफर्ममा उपयोगी हुने किशोरको भनाइ छ ।
त्यस्तै कुनै फन्टको प्रिभ्युमा ट्याप गरिसकेपछि फन्टका वर्ण, अङ्क, चिन्ह लगायतका विवरण देखिन्छन् ।
फन्ट कन्भर्टरको सुविधा !
यस प्लेटफर्ममा फन्ट कन्भर्टरको सुविधा पनि उपलब्ध गराइएको छ । डिजाइनिङका लागि युनिकोडदेखि प्रीति र प्रीतिदेखि युनिकोड बनाउनुपर्ने हुन्छ । त्यस्तोमा यस प्लेटफर्ममा भएको फन्ट कन्भर्टर टुल प्रयोग गर्न सकिन्छ ।
धेरै शब्द एकैपटक कन्भर्ट गर्न खोज्दा फन्ट बिग्रिने समस्या हुन्छ । समयमै त्यसलाई समाधान नगर्दा पछि डिजाइनिङ नै बिग्रिन सक्छ । यसलाई समाधान गर्न खड्काले प्रुफरिड मोड राखेका छन् । यस मोडले हरेक शब्द एक-एक गरी युनिकोडमा कस्तो देखिएको थियो अनि प्रीतिमा कस्तो देखिन्छ वा प्रीतिमा कस्तो देखिएको थियो अनि युनिकोडमा कस्तो देखियो भन्ने तुलना गर्न सघाउँछ । केही शब्द बिग्रिएको फेला पारे पहिलेकै अप्सनमा गएर एडिट गर्न सकिन्छ । तपाईंले टाइप गरेको शब्द बिग्रिएको छ भने एडिट गर्न सक्नुहुन्छ ।
रोमान वा देवनागरीमा टाइप गर्ने गति बढाउनु छ वा आफ्नो स्पिड कति छ भन्ने नाप्नु छ भने यसमा रहेको ‘टाइपिङ’ टेस्ट टुल प्रयोग गर्न सक्नुहुन्छ ।
बोलेरै नेपाली टाइपिङ !
केही कुरा नेपालीमा टाइप गर्नु छ, तर नेपाली टाइप गर्न गाह्रो लाग्छ भने यसमा रहेको भ्वाइस टाइपिङ फिचर प्रयोग गर्न सक्नुहुन्छ । यस प्लेटफर्मको होमपेजमा गएर मेनुबारबाट डकुमेन्टको अप्सन छान्नुभयो भने खाली क्यान्भास देखा पर्छ । त्यसमा रोमन पनि टाइप गर्न सक्नुहुन्छ । तर, नेपाली बोलेर टाइप गर्नु छ भने तलपट्टि रहेको माइक्रोफोनको अप्सन ट्याप गर्नुहोस् र टाइप गर्नुपर्ने कुरा बोल्नुहोस् । त्यसो गर्दा यसमा तपाईंले बोलेको कुरा टाइप हुन्छ ।
टाइप गरिसकेपछि माथि दायापट्टि रहेको ‘Download .docx’ मा ट्याप गर्नुभयो भने वर्ड फाइल डाउनलोड गर्न सक्नुहुन्छ ।
टिकटकबाटै अडियन्स ल्याउने मेसो
किशोरले आफ्नो प्लेटफर्मको प्रचार गर्ने र अडियन्सको प्रतिक्रियालाई स्थान दिने माध्यम टिकटकलाई बनाएका छन् । “म पछिल्लो दुई महिनादेखि टिकटकमा सक्रिय छु,” किशोर भन्छन्, “ग्राफिक डिजाइनरलाई जे जे फिचर आवश्यक पर्छन् ती सबैलाई एउटै प्लेटफर्मबाट उपलब्ध गराउने लक्ष्य छ । त्यसैले त्यहाँ आएका कमेन्ट र सुझाव अनुसार परिमार्जन गर्दै गइरहेको छु ।”
अनेपाली डटकममा नियमित प्रयोगकर्ता ल्याउन एसईओ र नयाँ नयाँ फिचर अन्वेषणमा किशोर सक्रिय छन् । हाल मासिक ३५०० बढी प्रयोगकर्ता रहेको प्लेटफर्ममा छ महिनाभित्र ६० देखि ९० हजार प्रयोगकर्ता ल्याउने उनको लक्ष्य छ । हाल उपलब्ध भएका फिचर निःशुल्क राखेर अन्य प्रिमियम फिचर ल्याउने तयारीमा जुटेका उनी थप्छन्, “अहिले ग्राफिक डिजाइनरलाई उपयोगी हुने प्लेटफर्म निर्माण गर्नमा केन्द्रित छु । त्यसपछि आम्दानीमा केन्द्रित हुन्छु । म फ्रिल्यान्सरका रूपमा काम गर्ने भएकाले पनि अहिले यसबाट हुने आम्दानीलाई मुख्य प्राथमिकतामा राखेको छैन ।”
पछिल्लो अध्यावधिक: माघ ३, २०८२ २०:३७
