close

एक रातको निद्रा रेकर्ड गरेरै १०० भन्दा बढी रोगको भविष्यवाणी गर्न सक्ने ‘स्लिपएफएम एआई’

टेकपाना टेकपाना

माघ ४, २०८२ ११:३९

एक रातको निद्रा रेकर्ड गरेरै १०० भन्दा बढी रोगको भविष्यवाणी गर्न सक्ने ‘स्लिपएफएम एआई’

काठमाडौँ । स्ट्यानफोर्ड मेडिसिनका अनुसन्धानकर्ताले एक रातको निद्राको तथ्याङ्क विश्लेषण गरी मानिसमा हुन सक्ने १०० भन्दा बढी स्वास्थ्य समस्याको भविष्यवाणी गर्न सक्ने एआई टुल विकास गरेका छन् । ‘स्लिपएफएम’ नाम दिइएको उक्त एआई मोडेलले निद्राको समयमा रेकर्ड गरिने शारीरिक सङ्केतका आधारमा गम्भीर रोगको जोखिम पत्ता लगाउने दाबी वैज्ञानिकले गरेका हुन् ।

नेचर मेडिसिन’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार यस मोडेललाई ६५ हजार सहभागीको ५ लाख ८५ हजार घण्टा लामो ‘पोलिसोम्नोग्राफी’ तथ्याङ्क प्रयोग गरेर तालिम दिइएको थियो । पोलिसोम्नोग्राफी परीक्षणमा निद्राको समयमा मस्तिष्कको गतिविधि, मुटुको धड्कन, श्वासप्रश्वास र शरीरको हलचल रेकर्ड गरिन्छ ।

अध्ययन टोलीका प्रमुख डा इमानुएल मिग्नोटले निद्राको समयमा प्राप्त हुने यी सङ्केतलाई ‘शारीरिक तथ्याङ्कको असीमित खानी’को संज्ञा दिएका छन् । अनुसन्धानका क्रममा एआईले विश्लेषण गरेका एक हजार भन्दा बढी रोगका श्रेणीमध्ये १३० वटामा सटीक भविष्यवाणी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । 

जसमा हृदयघात, हर्ट फेलियर, मस्तिष्कघात, डाइमेन्सिया र मिर्गौलाको दीर्घकालीन रोग जस्ता समस्या समावेश छन् । प्रतिवेदन अनुसार केही प्रकारका क्यान्सर, गर्भावस्थाका जटिलता र मानसिक स्वास्थ्य समस्याको भविष्यवाणीमा एआईको सटीकता ८० प्रतिशतभन्दा बढी देखिएको छ । 

अनुसन्धानकर्ताले हाल यो प्रणालीले कुन आधारमा विशेष रोगको पहिचान गर्छ भन्ने विषयमा थप अध्ययन गरिरहेका छन् । भविष्यमा यसलाई स्मार्ट घडी जस्ता ‘वेयरेबल’ डिभाइसमा जोडेर अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

अल्जाइमर पहिचानमा पनि नयाँ सफलता
सोही अध्ययनको सिलसिलामा अनुसन्धानकर्ताले अल्जाइमर रोगको पहिचानका लागि औँलाबाट निकालिएको रगतका केही थोपा मात्र प्रयोग गरी परीक्षण गर्न सकिने नयाँ विधिको विकास गरेका छन् । ३३७ जनामा गरिएको परीक्षणमा यो विधि ८६ प्रतिशत सटीक पाइएको हो ।

यसअघि अल्जाइमर पत्ता लगाउन महँगो ब्रेन स्क्यान वा पीडादायी ‘स्पाइनल फ्लुइड’ परीक्षण गर्नुपर्ने बाध्यता थियो । यो नयाँ प्रविधिले भविष्यमा दुर्गम क्षेत्रका मानिस र डाउन सिन्ड्रोम भएका व्यक्तिका लागि सहज निदानको बाटो खोल्ने विश्वास गरिएको छ । राति घरमै रगतको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाउन सकिने यो विधि चिकित्सा क्षेत्रमा अर्को महत्त्वपूर्ण फड्को मानिएको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८२ ११:४०