काठमाडौँ । कम्बोडिया हाल विश्वव्यापी इन्टरनेट ठगी उद्योगको केन्द्रको रूपमा उदाएको छ, जहाँका विशाल र सङ्गठित आपराधिक सञ्जालहरूले संसारभरका इन्टरनेट प्रयोगकर्ताहरूलाई अर्बौँ डलर ठगी गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय प्रतिबन्ध र विभिन्न चेतावनीका बाबजुद यी सञ्जालहरूलाई रोक्न कठिन भइरहेको छ । किनभने कम्बोडियाको ठगी उद्योग देशको सम्भ्रान्त राजनीतिक अर्थतन्त्रसँग गहिरो गरी जेलिएको छ । देशभर करिब २५० देखि ३५० सम्म यस्ता ठगी कम्पाउन्डहरू सञ्चालनमा रहेको अनुमान गरिएको छ ।
सिहानोकभिल: साइबर अपराधको 'मक्का'
कम्बोडियाको तटीय सहर सिहानोकभिलको केन्द्रमा रहेका गुमनाम गगनचुम्बी भवनहरूमा हजारौँ मानिसहरू हरेक दिन लग-इन गर्छन् । उनीहरूको एउटै उद्देश्य हुन्छ-विश्वभरका मानिसहरूलाई प्रलोभनमा पारेर सकेसम्म धेरै पैसा लुट्ने ।
कुनै समय ब्याकप्याकर र हनिमुन मनाउनेहरूका लागि शान्त गन्तव्य रहेको यो सहर अहिले क्यासिनो, होटेल र अपार्टमेन्ट ब्लकहरूबाट सञ्चालित साइबर अपराधको केन्द्र बनेको छ । हार्वर्ड विश्वविद्यालयको एसिया सेन्टरका अनुसार कम्बोडिया अहिले यस क्षेत्रको ठगीको मुख्य केन्द्र बनेको छ र यो सम्पूर्ण मेकोङ उपक्षेत्रको सबैभन्दा ठुलो 'आर्थिक इन्जिन' का रूपमा देखा परेको छ ।
ठगीको कार्यशैली: स्क्रिप्टिङ र 'पिग बुचरिङ'
ठगीको यो उद्योग अत्यन्तै व्यवस्थित तरिकाले सञ्चालन गरिन्छ । १८ वर्षीय एक कम्बोडियन कामदारका अनुसार कामको सुरुवात एउटा 'स्क्रिप्ट' बाट हुन्छ । यो स्क्रिप्ट सम्भावित पीडितहरूलाई माया र धनको लोभ देखाएर जालमा पार्न तयार गरिएको हुन्छ ।
यस प्रणालीलाई 'पिग बुचरिङ' (Pig Butchering) भनिन्छ, जहाँ ठगहरूले लामो समयसम्म पीडितसँग प्रेम वा मित्रताको नाटक गरेर उनीहरूको विश्वास जित्छन् र अन्त्यमा उनीहरूको सबै सम्पत्ति लुट्छन् ।
पिग बुचरिङ एउटा यस्तो व्यवस्थित अनलाइन ठगी गर्ने पद्धति हो, जहाँ अपराधीहरूले पीडितको विश्वास बिस्तारै जित्छन् र पछि उनीहरूलाई पूर्ण रूपमा ठग्छन् । यसलाई 'पिग बुचरिङ' भन्नुको अर्थ ठगहरूले पीडितलाई बुचरिङ अर्थात 'बध' गर्नु वा ठग्नु अघि लामो समयसम्म उनीहरूसँग सम्बन्ध वा विश्वासको वातावरण निर्माण गरेर उनीहरूलाई भावनात्मक रूपमा 'मोटो' बनाउनु हो ।
ती १८ वर्षीय कामदारले इटालियन भाषाको स्क्रिप्ट प्रयोग गरेर पीडितलाई फसाउने गर्थे । जब पीडित पूर्ण रूपमा विश्वासमा पर्थे, उनले ती व्यक्तिलाई 'किल टिम' (Kill Team) मा पठाइदिन्थे, जसले अन्तिम ठगी सम्पन्न गर्थ्यो ।
यस्ता ठगीहरू मुख्यतया रोमान्स (प्रेम), क्रिप्टोकरेन्सी र नक्कली लगानीका नाममा हुने गर्छन् ।
ठगी उद्योगको विशाल आर्थिक प्रभाव
पश्चिमी अधिकारीहरू र अनुसन्धानकर्ताहरूका अनुसार यो मल्टी-बिलियन डलरको विश्वव्यापी उद्योग हो । संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा मात्रै यस क्षेत्रका ठगी अपरेसनहरूबाट अमेरिकी नागरिकहरूले कम्तीमा १० अर्ब अमेरिकी डलर गुमाएको बताएको छ ।
यूएस इन्स्टिच्युट अफ पिसको अनुमान अनुसार सन् २०२३ मा दक्षिण-पूर्वी एसियाका ठगी केन्द्रहरूले कूल ६४ अर्ब अमेरिकी डलर चोरी गरेका छन् । कम्बोडियामा रहेका २५० देखि ३५० कम्पाउन्डहरूको तुलनामा म्यानमार र लाओसमा यस्ता केन्द्रहरू थोरै अर्थात् १५० देखि २५० सम्म रहेका छन् ।
राजनीतिक संरक्षण र पतन
ठगी उद्योगको यो सञ्जालमा ठुला व्यावसायिक घराना र राजनीतिक व्यक्तिको संलग्नता डरलाग्दो छ । हालै कम्बोडियाले चिनियाँ मूलका चेन झीलाई पक्राउ गरी चीन पठाएको छ । चेन झी प्रिन्स ग्रुपका अध्यक्ष हुन् र उनलाई एसियाकै सबैभन्दा ठुलो आपराधिक साइबर ठगी सङ्गठनका नाइके मानिएको छ।
चेन झी पूर्व प्रधानमन्त्री हुन सेनका सल्लाहकार समेत थिए । उनले सन् २०१४ मा कम्बोडियाको नागरिकता लिएका थिए र सन् २०२० मा सरकारलाई ५ लाख डलर दान दिएपछि उनलाई 'नाक ओक्न्हा' को मानार्थ उपाधि दिइएको थियो ।
अमेरिकी न्याय विभागका अनुसार चेन र उनका सहयोगीहरूले आफ्नो आपराधिक साम्राज्य जोगाउन विभिन्न देशका सार्वजनिक अधिकारीहरूलाई घुस दिने गर्थे । एक वरिष्ठ विदेशी अधिकारीका लागि ३० लाख डलरभन्दा बढीको जहाज र अर्का अधिकारीका लागि करोडौँ मूल्यका विलासी घडीहरू किनेर घुस दिइएको दाबी गरिएको छ ।
प्रिन्स ग्रुपको प्रभाव कम्बोडियाभर छ । यसका धेरै भवन, शपिङ मल, एउटा बैङ्क र कम्बोडिया एयरवेजमा समेत शेयर रहेको छ । यद्यपि, अक्टोबरमा अमेरिकाले प्रतिबन्ध लगाएपछि धेरै भवनहरूबाट प्रिन्स ग्रुपको नाम र लोगो हटाइएको छ । प्रिन्स ग्रुपले यी सबै आरोपहरूलाई ‘आधारहीन’ भन्दै अस्वीकार गरेको छ ।
मानव अधिकारको गम्भीर उल्लङ्घन र जबरजस्ती श्रम
यी ठगी केन्द्रहरू भित्रको वास्तविकता पनि अत्यन्तै डरलाग्दो छ । सिहानोकभिलका धेरै कार्यालयहरू अग्ला पर्खाल र काँडेतारले घेरिएका छन् । कामदारहरूलाई भाग्न नदिन झ्याल र बार्दलीहरूमा फलामका डन्डीहरू लगाइएका हुन्छन् ।
संयुक्त राष्ट्र सङ्घको अनुमान अनुसार कम्बोडियामा मात्र करिब १ लाख मानिसहरूलाई यी ठगी केन्द्रहरूमा काम गर्न बाध्य पारिएको छ । धेरैलाई राम्रो कामको लोभ देखाएर बेचबिखन गरी यहाँ ल्याइन्छ ।
हालै एक २२ वर्षीय दक्षिण कोरियाली विद्यार्थीको ठगी कम्पाउन्डमा यातनाका कारण मृत्यु भएपछि दक्षिण कोरियाले आफ्ना नागरिकहरूलाई कम्बोडियाका केही भागमा भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । १८ वर्षीय कामदारका अनुसार उनले महिनाको ५०० डलर तलब पाउँछन् । यो रकम कम्बोडियाको गार्मेन्ट उद्योगको न्यूनतम ज्याला भन्दा दोब्बर हो, जसले गर्दा धेरै युवाहरू जोखिम मोलेरै पनि यस काममा आकर्षित हुन्छन् ।
बदनामित देश र अर्थतन्त्र
यो ठगी उद्योगले कम्बोडियाको छविमा ठुलो धक्का पुर्याएको छ र यसले अन्ततः देशको अर्थतन्त्रलाई नै क्षति पुर्याउन सक्ने चेतावनी दिइएको छ ।
सन् २०२५ को पहिलो ११ महिनामा विदेशी पर्यटकहरूको सङख्या १३.८ प्रतिशतले घटेर ५२ लाखमा खुम्चिएको छ । धेरै अन्तर्राष्ट्रिय कम्पनीहरू ठगी केन्द्रहरूसँग जोडिएको देशमा लगानी गर्न डराइरहेका छन् । यदि यो उद्योग बन्द नगरिएमा कम्बोडियाको प्रतिष्ठामा दीर्घकालीन क्षति पुग्ने विज्ञहरूको भनाइ छ ।
उप-प्रधानमन्त्री सन चान्थोलले सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको र प्रमाण सङ्कलन गरेपछि थप कारबाही गरिने बताएका छन् । हालैका महिनाहरूमा केही कम्पाउन्डहरूमा छापा मारिएको छ र सयौँ विदेशीहरूलाई पक्राउ गरिएको छ ।
कम्बोडिया सरकारले कारबाही गरिरहेको दाबी गरे तापनि सिहानोकभिलमा अझै पनि यी अपरेसनहरू जारी रहेको स्थानीयहरू बताउँछन् । छापा मारिएका भवनहरू नजिकैका अन्य ठाउँबाट काम नियमित रूपमा सञ्चालन भइरहेको देखिन्छ ।
ठुला सिन्डिकेटहरूलाई राजनीतिक संरक्षण प्राप्त भएसम्म र ठुलो मात्रामा पैसाको चलखेल भइ रहँदासम्म यो उद्योगलाई पूर्ण रूपमा जरैदेखि उखेल्नु कम्बोडियाका लागि ठुलो चुनौती रहने देखिन्छ । चीन र कम्बोडियाले सुरक्षा र कानुन कार्यान्वयनमा सहयोग गरिरहेको बताए पनि यो विश्वव्यापी ठगीको जालो अझै फैलिरहेको छ ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको सामग्री)
पछिल्लो अध्यावधिक: माघ ५, २०८२ १२:१८
