close

टिकटकले ३ महिनामै नेपालबाट हटायो २८ लाखभन्दा बढी भिडिओ

टेकपाना टेकपाना

माघ ७, २०८२ १६:१४

टिकटकले ३ महिनामै नेपालबाट हटायो २८ लाखभन्दा बढी भिडिओ

काठमाडौँ । भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले सन् २०२५ को तेस्रो त्रैमासिक (जुलाई-सेप्टेम्बर) मा नेपालबाट २८ लाखभन्दा बढी भिडिओ हटाएको छ । हालै एक रिपोर्ट सार्वजनिक गर्दै कम्पनीले कम्युनिटी गाइडलाइन्स उलङ्घन गरेका २८ लाख २९ हजार ६१२ ओटा भिडिओ हटाएको जानकारी दिएको हो । 

सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धता अनुरूप यी सामग्रीमाथि कारबाही गरेको कम्पनीको भनाइ छ । नेपालमा हटाइएका भिडिओमध्ये ९९.७ प्रतिशत भिडिओ टिकटकले नै पत्ता लगाएर हटाएको थियो । त्यस्तै हटाइएका कुल भिडिओमध्ये ९८ प्रतिशत भिडिओ पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी रूपमा भने टिकटकले सोही अवधिमा २० करोड ४५ लाख ३४ हजार ९३२ भिडिओ हटाएको छ । यो संख्या प्लेटफर्ममा अपलोड गरिएका कुल सामग्रीको करिब ०.७ प्रतिशत हो । स्वचालित प्रविधि प्रयोग गरी १८ करोड ६६ लाख ८ हजार ८१ भिडिओहरू हटाइएका थिए । यद्यपि थप समीक्षापछि ८९ लाख ५० हजार ७३५ भिडिओ रिस्टोर गरिएको कम्पनीले जनाएको छ ।

यस त्रैमासिकमा टिकटकले ११ करोड ८६ लाख १८ हजार ३९९ ओटा नक्कली अकाउन्ट पनि हटाएको छ । साथै १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले चलाएको आशंकामा दुई करोड २२ लाख २६ हजार ५४२ ओटा अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ ।

रिपोर्ट अनुसार हटाइएका कुल भिडिओमध्ये ३० प्रतिशतमा संवेदनशील वा वयस्क विषयवस्तु समेटिएका थिए । थप १५.७ प्रतिशत भिडिओले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने २.७ प्रतिशतले गोपनीयता तथा सुरक्षासम्बन्धी गाइडलाइन उल्लङ्घन गरेका थिए । यसका अतिरिक्त ३२.९ प्रतिशत भ्रामक सूचनाका रूपमा फ्ल्याग गरिएका थिए भने ३४.४ प्रतिशत हटाइएका भिडिओ सम्पादन गरिएका वा एआईबाट सिर्जना गरिएका कन्टेन्टका रूपमा फ्ल्याग गरिएका थिए ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८२ १७:११