close

रवि लामिछानेको नाममा नक्कली टिकटक अकाउन्ट बनाएर भ्रम फैलाइँदै, आईफोनसँग साट्न विज्ञापन

टेकपाना टेकपाना

माघ १०, २०८२ १०:३९

रवि लामिछानेको नाममा नक्कली टिकटक अकाउन्ट बनाएर भ्रम फैलाइँदै, आईफोनसँग साट्न विज्ञापन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाममा नक्कली टिकटक अकाउन्ट बनाएर व्यापार भइरहेको पाइएको छ । लामिछानेको नाम र तस्बिर प्रयोग गरी खोलिएको उक्त फेक अकाउन्टमार्फत भ्रम फैलाउनुका साथै अहिले सो अकाउन्टलाई आईफोनसँग साट्न खोजिएको छ ।

‘@rabi.lamichhane96’ युजरनेम रहेको उक्त अकाउन्टलाई आईफोन ८ वा आईफोन एक्ससँग साट्नका लागि विज्ञापन गरिएको पाइएको हो । असान्दर्भिक भिडिओहरू राखेर उक्त अकाउन्टमा ७४ हजारभन्दा बढी फलोअर बटुलिएको छ ।

अहिले देशमा निर्वाचनको चुनावी माहोल तातिरहेका बेला सो अकाउन्टले लामिछानेका पुराना भिडिओ पोस्ट गर्दै सर्वसाधारणमा भ्रम फैलाउने काम गरिरहेको छ । विशेषगरी गत भदौमा ‘जेन-जी’ विद्रोहका क्रममा नख्खु कारागारबाट बाहिरिएपछि लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै सार्वजनिक गरेको चार महिना पुरानो भिडिओलाई अहिलेको सन्दर्भ जस्तो पारेर उक्त अकाउन्टमा राखिएको छ ।

लामिछानेले आफ्ना आधिकारिक सामाजिक सञ्जालबाट पछिल्लो चार महिनायता कुनै पनि नयाँ भिडिओ सार्वजनिक गरेका छैनन् । तर, यो नक्कली अकाउन्टले भने पुराना र असान्दर्भिक भिडिओ प्रयोग गरी फलोअर बढाउने र अन्ततः त्यसलाई महँगो मोबाइल फोनसँग साट्ने उद्देश्य राखेको देखिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित व्यक्तिको नाममा नक्कली अकाउन्ट खोलेर व्यापार गर्ने र राजनीतिक स्वार्थका लागि भ्रम फैलाउने प्रवृत्ति बढ्दै गएको छ । 

पछिल्लो अध्यावधिक: माघ १०, २०८२ ११:१९