फ्याक्टचेक: दिवाकर साहबाट रास्वपाले टिकटका लागि २ करोड मागेको भन्दै भाइरल भएको पोस्ट भ्रामक
माघ १०, २०८२ १९:५१
काठमाडौँ । विगत केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा पूर्वसञ्चारकर्मी दिवाकर साहसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनको टिकटका लागि दुई करोड रुपैयाँ मागेको दाबीसहितको पोस्टले चर्चा पाइरहेको छ । रकम मागिएकै कारण साहले स्वतन्त्र उम्मेदवारी दिएको दाबी उक्त पोस्टमा गरिएको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट सो दाबी भ्रामक देखिएको छ । यस सम्बन्धमा स्वयम् दिवाकर साहले नै आफूसँग कसैले कुनै रकम नमागेको र आफ्नै इच्छाले स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।
दाबी
बिहीबार २२ जनवरी २०२६ बेलुका ५ः१३ बजे ‘Sawan Sikindra’ नामको फेसबुक अकाउन्टबाट एउटा पोस्ट अपलोड भयो । पोस्टको क्याप्सनमा लेखिएको छ, “रास्वपाले दिवाकर साहसँग एउटा टिकटको मागे २ करोड रुपैयाँ, पैसा नदिएर स्वतन्त्र उम्मेदवार बने साह ! 🤠🔔”
अपलोड गरिएको पोस्टरमा पनि त्यही टेक्स्ट छ । पछाडि ब्याकग्राउन्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को फोटो राखिएको छ । अगाडिपट्टि भने दिवाकर साहको फोटो राखिएको छ । पोस्टरमा ‘Sawan Solomdra (Sahani)’ वाटरमार्क राखिएको छ ।
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १३ हजार बढी रियाक्सन, १६०० बढी कमेन्ट आएका छन् भने पोस्ट ४६० पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
दिवाकर साहसँग रास्वपाले दुई करोड रुपैयाँ मागेको दाबीसहितका अन्य पोस्ट फेला पार्न हामीले गुगल रिभर्स इमेज सर्च गर्यौं । त्यस क्रममा ‘Sangrila Shah’ नामको फेसबुक अकाउन्टबाट सोही पोस्ट कपी पेस्ट गरी राखेको पाइयो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै ‘Bhoj Raj Thapa’ नामक फेसबुक ग्रुपमा ‘खेम राज शाही’ नामका प्रयोगकर्ताले उही पोस्ट कपी पेस्ट गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
फेसबुकमा ‘रास्वपाले दिवाकर साहसँग एउटा टिकटको मागे २ करोड रुपैयाँ’ कीवर्ड सर्च गर्ने क्रममा त्यही पोस्ट अन्य अकाउन्टबाट पनि पोस्ट भएको फेला पर्यो । हेर्नुहोस् स्क्रिनरेकर्ड !
यसको तथ्यजाँच गर्नका लागि हामीले सबैभन्दा पहिले यो पोस्ट फैलाउने अकाउन्ट ‘Sawan Sikindra’ लाई विश्लेषण गर्यौं । दुई करोड मागेको भन्ने प्रमाण के छ, दाबी कसले गरेको हो, यो सूचना कहाँबाट आएको हो, कहिले मागिएको हो लगायतका जानकारीको अभाव उक्त पोस्टमा छ । आफूलाई गायक तथा युट्युबर बताउने ‘Sawan Sikindra’ ले विना प्रमाण सामान्य पोस्ट राखेको दाबी गरेको देखिन्छ ।
हामीले दिवाकर साह र रास्वपासँग जोडिएका समाचार खोज्यौं । त्यस क्रममा कुनै पनि व्यवसायीक सञ्चार माध्यमले सो विषयमा समाचार वा रिपोर्ट राखेको फेला परेन । दिवाकर साहलाई नै सम्पर्क गरेर यस विषयमा बुझ्न खोज्यौं । उनले सो दाबीको खण्डन गर्दै भने, “त्यो न्युज कसले लेख्यो मलाई पनि थाहा छैन । न मैले त्यसमा कुनै प्रतिक्रिया दिएको छु न केही भनेको छु । न्युजहरूले आआफ्नै तरिकाले राखेका छन् । यो सबै मिडिया स्टन्ट हो जस्तो मलाई लागेको छ । मेरो पक्षमा हो कि विपक्षमा हो त्यो गर्नेहरूले जानुन् ।”
सुन्नुहोस् दिवाकर साहसँगको कुराकानी !
दाबी
प्रतिनिधि सभा निर्वाचनको टिकटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वसञ्चारकर्मी दिवाकर साहसँग २ करोड रुपैयाँ माग गरेको र रकम नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेको ।
दाबीकर्ता
‘Sawan Sikindra’, ‘Sangrila Shah’ र खेमराज शाही लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
दिवाकर साहले आफूसँग रास्वपाले कुनै पनि रकम नमागेको स्पष्ट पारेका छन् । उनले आफ्नो इच्छाले धनुषा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएको र यो दाबी भ्रम फैलाउन मात्र खोजिएको बताएका छन् । भाइरल पोस्टमा २ करोड मागिएको भन्ने कुनै ठोस प्रमाण, स्रोत वा आधार खुलाइएको छैन । त्यस्तै कुनै पनि स्थापित वा व्यावसायिक सञ्चार माध्यमले यस विषयमा कुनै समाचार वा रिपोर्ट प्रकाशित गरेका छैनन् ।
निष्कर्ष
रास्वपाले दिवाकर साहसँग टिकटका लागि २ करोड रुपैयाँ मागेको भन्ने दाबी भ्रामक छ ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ १०, २०८२ २०:०
