हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा स्वागत नेपाल साइबर ब्युरोको अनुसन्धानमा, माफीसहित लिखित कागज
माघ १२, २०८२ १७:३
काठमाडौँ । साइबर ब्युरोले झापा क्षेत्र नम्बर २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई विवादास्पद र हिंसात्मक अभिव्यक्ति दिएको विषयमा सोधपुछ गरी लिखित प्रतिबद्धता गराएर छोडेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले ‘लोक आवाज’ लगायतका युट्युब च्यानलहरूबाट समाजमा हिंसालाई प्रश्रय दिने र भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिएको भन्दै झापा बिर्तामोडका ५० वर्षीय नेपाललाई अनुसन्धानको दायरामा ल्याएको जानकारी दिएको हो ।
स्वागत नेपालले एक प्रसङ्गमा भनेका थिए, "जसले पृथ्वी नारायण शाहको विरोध गर्दछ, त्यसको टाउको काटिन्छ, काट्नु पर्छ, म काट्न तयार हुन्छु ।" उनको यस्तो अभिव्यक्तिले समाजमा हिंसालाई प्रश्रय दिने र कानुनको उल्लङ्घन हुने भन्दै आलोचना भइरहेको छ ।
यसबारे सोधपुछ गर्दा स्वागत नेपालले गल्ती स्वीकार गरेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । "अब उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति दिने छैन र कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिनेछु" भनी लिखित कागज गरेपछि हाललाई उनलाई छाडिएको र थप अनुसन्धान भइरहेको अवस्थीले बताए ।
सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामग्रीहरू प्रसारित गर्ने उपर समेत यस ब्युरोबाट निगरानी भइरहेको र यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा कानुन बमोजिम कारबाही हुने ब्युरोको चेतावनी छ ।
यसअघि राप्रपाले आफ्ना उम्मेदवारलाई चुनावको मुखमा सरकारी संयन्त्र प्रयोग गरेर दुःख दिन खोजिएको भन्दै आपत्ति जनाएको थियो ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १७:२४
