close

नेपाली कन्टेन्ट क्रियटरलाई अमेरिकी कम्पनीसँग काम गर्ने अवसर, अनलाइन आवेदन खुला

टेकपाना टेकपाना

माघ १३, २०८२ २२:३२

नेपाली कन्टेन्ट क्रियटरलाई अमेरिकी कम्पनीसँग काम गर्ने अवसर, अनलाइन आवेदन खुला

काठमाडौँ । नेपाली कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै 'फ्युचरफ्रन्ट: पावरिङ डिजिटल इनोभेसन थ्रु कन्टेन्ट एण्ड एआई' कार्यक्रम आयोजना हुने भएको छ । अमेरिकी दूतावासको आर्थिक सहयोगमा युथ इनोभेशन ल्याब कन्सल्टले सञ्चालन गर्न लागेको यस कार्यक्रममार्फत नेपाली क्रियटरहरूले नेपालमा रहेका अमेरिकी कम्पनीहरूसँग सहकार्य गर्ने अवसर पाउनेछन् ।

आयोजकका अनुसार यस कार्यक्रमका लागि आवेदन खुला भइसकेको छ र इच्छुक क्रियटरहरूले आगामी शनिबार (१७ माघ/३१ जनवरी) सम्म यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् । आगामी अप्रिल २०२६ सम्म सञ्चालन हुने कार्यक्रमको मुख्य उद्देश्य नेपालको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै क्रियटरहरूलाई अत्याधुनिक प्रविधिसँग जोड्नु रहेको आयोजकले जनाएको छ ।

देशभरबाट प्राप्त आवेदनहरूमध्ये १० जना उत्कृष्ट कन्टेन्ट क्रियटरहरूलाई छनोट गरिने छ । छानिएका सहभागीहरूले नेपालमा सञ्चालित १० ओटा अमेरिकी कम्पनीहरूसँग मिलेर व्यावसायिक रूपमा काम गर्ने मौका पाउनेछन् ।

सहभागीहरूका लागि काठमाडौँमा दुई दिने विशेष बुटक्याम्प आयोजना गरिनेछ । बुटक्याम्पमा उनीहरूलाई व्यावसायिक विज्ञापन, मार्केटिङ टुल्स र एआई प्रयोग गरी प्रभावकारी कन्टेन्ट निर्माण गर्ने सीप सिकाइनेछ । यसका साथै तालिम र मेन्टरशिपको समेत व्यवस्था गरिएको छ ।

को हुन सक्छन् सहभागी ? 

नयाँ प्रविधि र नवप्रवर्तन (इनोभेसन) मा रुचि राख्ने तथा सामाजिक सञ्जालमा सक्रिय क्रियटरहरू यसमा सहभागी हुन सक्नेछन् । विशेषगरी साना उद्योग र उद्यमशीलतासँग सम्बन्धित कन्टेन्ट बनाउँदै आएका र सामाजिक-आर्थिक विकासमा प्रभाव पार्ने क्षमता भएका क्रियटरहरूलाई प्राथमिकता दिइने आयोजकले उल्लेख गरेको छ ।

आवेदनका लागि कुनै पनि विषयलाई कथा वा भिडिओमार्फत प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सक्ने र कार्यक्रमको अवधिभर पूर्ण रूपमा सहभागी हुन सक्ने प्रतिबद्धता हुनुपर्ने प्रावधान राखिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ २२:४१