भारतमा बसेर मिस पबीको नाम र तस्बिर दुरुपयोग गरी श्रृङ्खलाबद्ध भ्रामक पोस्ट राख्ने फेसबुक पेज
माघ १४, २०८२ ०:१५
काठमाडौँ । टिकटकर एवं कलाकार पवित्रा साकी (मिस पबी) को नाम र तस्बिर दुरुपयोग गरी एउटा फेसबुक पेजले श्रृङ्खलाबद्ध रूपमा भ्रामक र आपत्तिजनक सामग्रीहरू फैलाइरहेको पाइएको छ । ९३ हजारभन्दा बढी फलोअर रहेको यो पेजले विशेषगरी नेता र सेलिब्रिटीहरूका एआई सिर्जित नक्कली तस्बिरहरू प्रयोग गरेर समाजमा भ्रम फैलाउने काम गरिरहेको छ ।
फेसबुकमा ‘Miss Pabi 41’ नाम र ‘misskaruna650’ युजरनेम भएको यो पेज पूर्णतः भ्रामक रहेको पाइएको छ । फेसबुकको पेज ट्रान्सपरेन्सी अनुसार यो पेज १६ अगस्ट २०२२ मा ‘Miss Pabi 4’ नाममा खोलिएको थियो भने २२ नोभेम्बर २०२५ मा नाम परिवर्तन गरी 'Miss Pabi 41' राखिएको देखिन्छ ।
चिन्ताजनक कुरा के छ भने, यो पेज नेपालबाट नभई भारतमा रहेका २ जना एड्मिनले सञ्चालन गरिरहेका छन् । मिस पबीको फोटो कभर र प्रोफाइलमा राखेर सर्वसाधारणलाई यो आधिकारिक पेज हो भन्ने भान पारिएको छ ।

कसरी फैलाइँदै छ भ्रम ?
यो पेजले प्रयोग गर्ने शैली अत्यन्तै भ्रामक र सेन्सेसनल छ । यसले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर यस्ता तस्बिरहरू बनाउँछ, जुन सामान्य प्रयोगकर्ताको पहिलो नजरमा वास्तविक देखिन सक्छन्, तर पूर्णतः नक्कली हुन्छन् ।
उदाहरणका लागि यस पेजले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरामी भएको, अस्पताल भर्ना भएको वा खुट्टाको अपरेसन भएको भन्दै एआई सिर्जित नक्कली तस्बिरहरू पोस्ट गर्ने र 'Get Well Soon' लेख्न लगाएर इन्गेजमेन्ट बटुल्ने धन्दा चलाएको छ ।

एमाले नेता महेश बस्नेतलाई जनताले लखेटेको वा युवराज सफललाई प्रहरीकाे समूहले बाेकेर लगिरहेको जस्ता कपोलकल्पित र भ्रामक हेडलाइन राखेर पोस्टहरू गरिएका छन् । अनि कमेन्ट गर्ने अधिकांश प्रयोगकर्ताले नक्कली पोस्ट पनि पत्याउँदै आफ्ना धारणा राखेको पाइन्छ । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबिच आपसी वैमनस्यता बढाउने काम गरेको छ ।

समाजमा नाम चलेका अन्य व्यक्तिहरूको समेत तस्बिर तोडमोड गरी भ्रम फैलाइएको छ ।





किन गरिन्छ यस्तो ?
फेसबुकमा पछिल्लो समय मोनिटाइजेसन (Monetization) को सुविधा उपलब्ध भएपछि धेरै लाइक, कमेन्ट र शेयर बटुलेर पैसा कमाउने धन्दा फस्टाएको छ । ‘मिस पबी ४१’ वा यस्तै अन्य पेजहरूले सार्वजनिक व्यक्तिको संवेदनासँग खेल्दै धेरैभन्दा धेरै इन्गेजमेन्ट पाउनका लागि यस्ता भ्रामक सामग्री हाल्ने गर्छन् । डिजिटल मिडिया साक्षरताको अभावमा धेरै नेपाली प्रयोगकर्ताहरूले यस्ता कुरालाई साँचो मानेर कमेन्ट गर्ने, शेयर गर्ने गर्दा यो झनै फैलिरहेको छ ।
टेकपानाको तथ्यजाँच डेस्कले पनि यो पेजका सामग्रीहरू पटक-पटक गलत प्रमाणित गरिसकेको छ । यो पेजले विशुद्ध रूपमा प्रोपागान्डा फैलाउने र गलत सूचना (मिसइन्फर्मेसन) मार्फत लाभ (आर्थिक) लिने काम गरिरहेको बुझ्न सकिन्छ ।
यस्ता सामाजिक सञ्जाल अकाउन्टले व्यक्तिको चरित्रहत्या मात्र नगरी समाजको शान्ति र व्यवस्थामा समेत दखल पुर्याउने खतरा देखिन्छ ।
कसरी सुरक्षित रहने ?
रिपोर्ट गर्नुहोस्: यदि तपाईंको फेसबुक फिडमा यस्तो भ्रामक पोस्ट आइरहेको छ भने तत्काल पेजको प्रोफाइलमा गएर Report Page मा क्लिक गरी Fake Page वा Scam/Misleading को रूपमा रिपोर्ट गर्नुहोस् ।
आधिकारिक स्रोत मात्र विश्वास गर्नुहोस्: कुनै पनि राजनीतिक वा सामाजिक समाचारका लागि आधिकारिक सञ्चारमाध्यम वा सम्बन्धित व्यक्तिको आधिकारिक आईडी मात्र हेर्नुहोस् ।
सावधानी अपनाउनुहोस्: धेरैजसो एआई सिर्जित फोटोहरूमा मानिसका औँलाहरू, अनुहारका रेखा वा ब्याकग्राउन्ड अलि अस्वाभाविक देखिन्छन् । यस्ता साना कुरामा ध्यान दिएर भ्रमबाट बच्न सकिन्छ ।
डिजिटल साक्षरता: ‘लाइक गर्नुहोस्’, ‘कमेन्ट गर्नुहोस्’ भन्दै जनताको भावनामा खेल्ने फेसबुक पेज लगायत अन्य सामाजिक सञ्जाल अकाउन्टबाट सधैँ टाढै रहनुहोस् ।
पछिल्लो अध्यावधिक: माघ १४, २०८२ ०:२५
