close

फेसबुकमा आफू विरुद्ध नकारात्मक कमेन्ट गर्नेलाई धमाधम ब्लक गर्दै केपी ओली !

टेकपाना टेकपाना

माघ १६, २०८२ १४:२५

फेसबुकमा आफू विरुद्ध नकारात्मक कमेन्ट गर्नेलाई धमाधम ब्लक गर्दै केपी ओली !

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय सामाजिक सञ्जालमा ‘ब्लक’ अभियानका कारण चर्चा र आलोचनाको केन्द्रमा परेका छन् । ओलीको आधिकारिक फेसबुक पेजबाट आफूविरुद्ध आलोचनात्मक टिप्पणी गर्ने प्रयोगकर्तालाई धमाधम ‘ब्लक’ गर्न थालिएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको हो ।

विशेषगरी राजनीतिक विषयमा प्रश्न उठाउने, विगतका घटनाको स्मरण गराउने र तिखो टिप्पणी गर्ने सञ्चारकर्मी, कलाकार तथा सर्वसाधारणलाई निशाना बनाइएको भन्दै धेरैले असन्तुष्टि पोखिरहेका छन् ।

पत्रकार भानुभक्त आचार्यले आफूले २३ भदौको घटनालाई लिएर माफी माग्न आग्रह गर्दा ब्लक गरिएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, “अघि भर्खरै बाको शहीद दिवसको फेसबुके सन्देशमा कमेन्ट गरेको थिएँ- ‘गत भदौ २३ गते आफ्नो नालायकीले मारिएका युवाहरूप्रति, उनीहरूका परिवार र देशप्रति आज शहीद दिवसकै अवसरमा क्षमायाचना गर्नुहोस् ।’ आसेपासे खलकले आफ्नो मन थाम्न सकेनन् र ब्लक गरिदिए ।”

आचार्यले अगाडि थपेका छन्, “तत्कालीन सरकार प्रमुखका हैसियतले त्यस समयमा मारिएका युवाप्रतिको नैतिक जिम्मेवारी बोध नगर्ने राजनीतिज्ञलाई सांसद, मन्त्री, प्रधानमन्त्री त के, वडाध्यक्षमा समेत निर्वाचित गर्नु हुँदैन भन्ने मेरो मान्यता छ ।”

त्यस्तै कमेडियन एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हिमेश पन्तले पनि आफू ओलीको फेसबुक पेजबाट ब्लक भएको जानकारी दिएका छन् । उनले छोटो प्रतिक्रिया दिँदै लेखेका छन्, “अन्ततः केपी शर्मा ओलीले मलाई पनि ब्लक हानेका छन् ।”

कन्टेन्ट क्रिएटर नवराज पाण्डे (फुलेबुडा) ले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्, "झोलेहरूले मलाई कति भुक्छस् भन्थे, उता मेरो भुकाइ केपी ‘बा’ को कानसम्म पुगेछ, बुढाले ब्लकै ठोकेछन् नि, हैट !”

यसै विषयलाई लिएर केशव कोइरालाले ओलीको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन् । ओलीले अन्य दलका नेताहरूसँग सार्वजनिक बहसको चुनौती दिने तर आफ्नै मतदाताको आलोचना सुन्न नसक्ने भन्दै उनले कटाक्ष गरेका छन् । कोइराला भन्छन्, “प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीले उम्मेदवारहरू बीच सार्वजनिक बहस गर्न पाएनन् भनेर एकथरीलाई खपिनसक्नु छ । अर्कोतिर उनी फेसबुक पेजमा हामी मतदाताको जायज आलोचना सुन्नै चाहँदैनन् । मतदाताको आलोचना सुन्न नसक्नेले केको सार्वजनिक बहस गर्नु ?”

अर्का प्रयोगकर्ता निमकान्त पाण्डेले भने यसलाई चुनावी परिणामसँग जोडेर चेतावनी दिएका छन् । उनले लेखेका छन्, “आज प्रश्न गर्ने नागरिक ब्लकमा छन्, भोलि यिनै नागरिक फैसला गर्ने ठाउँमा हुनेछन्, हेक्का रहोस् ! चुनावमा मतपेटिकाले कसैलाई ब्लक गर्दैन क्यारे ।” सामाजिक सञ्जाल रेडिट र फेसबुकमा विभिन्न प्रयोगकर्ताले पनि आफूलाई केपी शर्मा ओलीले ब्लक गरेको दाबी गर्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा आलोचना तीव्र भएपछि यसबारे एमाले अध्यक्ष ओलीको सचिवालयले भने यसलाई सामान्य रूपमा लिएको छ । सामाजिक सञ्जाललाई जनतासँग जोडिने बलियो माध्यम बनाएका ओलीले पछिल्लो समय आफ्ना समर्थकका सकारात्मक टिप्पणीलाई मात्र स्थान दिन खोजेको र आलोचनालाई पूर्णतः निषेध गर्न खोजेको आरोप उनीमाथि लागेको छ । निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा देखिएको यो ‘ब्लक’ प्रकरणले राजनीतिक वृत्तमा बहस सिर्जना गरेको छ ।

सच्याइएकोः यसअघि केपी ओलीको सचिवालयको भन्दै असम्बन्धित व्यक्तिको नाम उल्लेख हुन गएकोमा क्षमाप्रार्थी छौँ । उक्त त्रुटि सच्याइएको छ ।  -स.

पछिल्लो अध्यावधिक: माघ १६, २०८२ २३:२४