काठमाडौँ । विश्वभरका ८०० भन्दा बढी ह्याकर र क्लाउड सेक्युरिटी इन्जिनियरहरू सहभागी ‘विज क्लाउड सेक्युरिटी च्याम्पियनसिप’मा दुई नेपाली युवाले उत्कृष्ट प्रदर्शन गरेका छन् । हाल जारी यस विश्वव्यापी प्रतिस्पर्धामा नेपालका अनुभव रत्न ढकाल र रञ्जन मरासिनी क्रमशः छैटौँ र सातौँ स्थान हासिल गर्न सफल भएका हुन् ।
एक वर्षसम्म चल्ने यो प्रतियोगिता एडब्लूएस, जीसीपी र कुबेरनेटिक्स जस्ता क्लाउड प्लेटफर्ममा देखिने वास्तविक सुरक्षा कमजोरीहरूलाई समाधान गर्नुपर्ने हुन्छ । यसमा हरेक महिना नयाँ चुनौती (क्याप्चर द फ्ल्याग- सीटीएफ) प्रदान गरिन्छ ।
प्रतियोगिता अहिले आठौँ महिनामा चलिरहेको छ । यसमा सहभागी २३ वर्षीय अनुभव रत्न ढकालले काठमाडौँको इस्लिङ्टन कलेजबाट साइबर सेक्युरिटीमा स्नातक गरेका छन् । त्यस्तै, २४ वर्षीय रञ्जन मरासिनी चितवनको फोर्ब्स कलेजमा साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत छन् । हाल प्रतिस्पर्धाको शीर्ष २० मा रहेका सबै प्रतिस्पर्धीको समान १५० अङ्क छ, जसमा ढकाल र मरासिनी पनि समावेश छन् ।

प्रतियोगितामा अन्य नेपालीहरूको सहभागिता र प्रदर्शन पनि उत्साहजनक छ । उश्पल फुयाँल (BotBhugate) ३८औँ स्थानमा छन् भने विदिशा सुवेदी ६७औँ स्थानमा छिन् । यस्तै, 'kush7777' नामका प्रयोगकर्ता १०२औँ, श्रीद अधिकारी १६५औँ, 'Ciphercore' २४०औँ, समिर चापागाईँ २८९औँ र सफल कार्की २९३औँ स्थानमा छन् । ५०० देखि ८२८औँ स्थानको बीचमा थप तीन नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ताहरू प्रतिस्पर्धा गरिरहेका छन् ।
क्लाउड सेक्युरिटी र सम्बन्धित डोमेनको गहिरो प्राविधिक ज्ञान आवश्यक पर्ने भएकाले यो प्रतियोगिता निकै चुनौतीपूर्ण मानिन्छ । साइबर सुरक्षामा रुचि राख्ने व्यक्तिहरूले यसमा सहभागी हुनका लागि यस लिङ्कमा क्लिक गरेर दर्ता गर्न सक्छन् ।
इजरायल र अमेरिकामा मुख्यालय रहेको ‘विज’ (Wiz) कम्पनीले आयोजना गरेको यस प्रतियोगिताको विजेताले ‘डब्लूडब्लूई’को जस्तै च्याम्पियनसिप बेल्ट र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई कम्पनीमा रोजगारीको अवसर समेत मिल्नेछ । यही प्रतियोगितामा देखाएको उत्कृष्ट सीपकै कारण अनुभव रत्न ढकालले विज कम्पनीसँग अनुबन्धित भएर नेपालबाटै ‘रिमोट’ काम गर्ने अवसर पाइसकेका छन् ।
जुन २०२५ देखि सुरु भएको यो प्रतिस्पर्धा मे २०२६ सम्म चल्नेछ । ढकाल र मरासिनीले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउँदै प्रतियोगिताको अन्त्यसम्म शीर्ष १० भित्रै रहने लक्ष्य राखेका छन् ।
पछिल्लो अध्यावधिक: माघ १७, २०८२ १४:६
