close

नेपाली चलचित्र ‘दिमाग खराब’ युट्युबमा आउँदै

टेकपाना टेकपाना

माघ २०, २०८२ १७:४७

नेपाली चलचित्र ‘दिमाग खराब’ युट्युबमा आउँदै

काठमाडौँ । निश्चल बस्नेत निर्देशित नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ युट्युबमा उपलब्ध हुने भएको छ । मङ्गलबार फेसबुकमा एक पोस्ट राख्दै बस्नेतले यो चलचित्र आगामी शुक्रबारदेखि युट्युबमा उपलब्ध हुने जानकारी दिएका हुन् ।

पोस्टमा उनले लेखेका छन्, “हाम्रो चलचित्र दिमाग खराब अब युट्युबमा यही शुक्रबारदेखि हेर्न मिल्नेछ ।”

‘दिमाग खराब’ ले सोसल ड्रामा र राजनीतिक व्यङ्ग्यलाई केन्द्रमा राखेको छ । मुख्य पात्र इन्द्र शर्मा (खगेन्द्र लामिछाने)ले विदेशमा रोजगारीका लागि प्रयास गर्दा नौकरशाही बाधा र धोखाधडीको सामना गर्नुपर्छ, जसले उनको पारिवारिक जीवनलाई प्रभावित पार्छ । राजनीतिक छलकपट, सामाजिक अन्याय र व्यक्तिगत बलिदानका विषयलाई चलचित्रमा चित्रण गरिएको छ ।

यो चलचित्र ०८० कात्तिक २४ गतेदेखि हलहरूमा रिलिज भएको थियो । बक्स अफिसमा यसले कुल १०.६७ करोड नेपाली रुपैयाँ कमाइ गरेको थियो ।

चलचित्रका कलाकारहरूमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, निश्चल बस्नेत, माओत्से गुरुङ लगायत छन् ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १७:५५