close

अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक र लाञ्छनापूर्ण प्रचार भएको भन्दै एमालेको आपत्ति

टेकपाना टेकपाना

माघ २१, २०८२ १६:५९

अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक र लाञ्छनापूर्ण प्रचार भएको भन्दै एमालेको आपत्ति

काठमाडौँ । नेकपा (एमाले)ले सामाजिक सञ्जालको चरम दुरुपयोग गरी पार्टी र नेतृत्वविरुद्ध भ्रामक एवं लाञ्छनापूर्ण प्रचार भइरहेको भन्दै आपत्ति जनाएको छ । बुधबार केन्द्रीय कार्यालयका तर्फबाट प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा प्रविधिको दुरुपयोग रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

एमालेले निर्वाचनको सन्दर्भमा विभिन्न राजनीतिक दल, तिनका उम्मेदवार र पार्टीको निर्वाचन चिह्नका बारेमा भ्रम सिर्जना गर्न कलाकार र अत्याधुनिक प्रविधिको दुरुपयोग भइरहेको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “...हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति आपत्ति प्रकट गर्दै यस्ता असभ्य, गैरराजनीतिक र आपत्तिजनक अभिव्यक्तिहरूको कडा शब्दमा भर्त्सना तथा निन्दा गर्दछ ।”

एमालेले निर्वाचन चिह्न परिवर्तन लगायतका भ्रामक सामग्री तयार पारी प्रसारण गर्ने जो-कोहीलाई पनि तत्काल अनुसन्धान गरी कारबाही गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमध्ये १६३ क्षेत्रमा आफ्ना उम्मेदवार कायम गरेको जानकारी दिएको छ । कर्णाली प्रदेशको रुकुम-पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सहयोग गर्ने सहमति भएको र मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।


 

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ १८:१६